२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

अशोक घिमिरे

काठमाडौं । ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन् ।

बौद्धस्थित काठमाडौँ ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महीना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन् । अलपत्र पर्नेमा रामेछापका खगेन्द्रबहादुर सुनुवार, गोविन्द तामाङ र कुमार मगर, इलामका प्रेमबहादुर गुरुङ र शेरबहादुर गुरुङ, धनकुटाका बोमदेवान राई, पाँचथरका विनोद गुरुङ, ओखलढुङ्गाका तेजबहादुर राई, नवलपुरका दीपबहादुर आले मगर र सुजन झण्डी मगर, चितवनका अनिल तामाङ, काठमाडौँका सविन बस्ताकोटी तथा उदयपुरका देवराज विष्ट रहेका छन् ।

दुई चरणमा गरेर रसिया पुगेका ३४ कामदारमध्ये केहीलाई आंशिक मात्रामा काम दिएर न्यून पारिश्रमिक मात्र दिइएको बताइएको छ । ५०० अमेरिकी डलर मासिक पारिश्रमिक दिने भनी सम्झौता गरेर लगिए पनि अहिले विभिन्न बहानामा कम्पनीले आठ हजारमात्र पारिश्रमिक दिएको कामदारले आरोप लगाएका छन् । कामदारले पाउनुपर्ने तलब अर्को महीना दिन्छौँ भन्दै आए पनि अहिलेसम्म पूरा तलब नपाएको उनिहरुको भनाइ छ ।

रसिया ओर्लनेबित्तिकै कम्पनीको आधिकारिक प्रतिनिधि नआइ उहाँहरुलाई लिन एजेन्टलाई पठाइएको थियो । “रसियाको विमानस्थलमा झरेपछि रसियन एजेन्टले हामीलाई सेन्टपिटरवर्ग जाने ‘ट्रेन’मा चढाएर छाड्यो”, अलपत्र परेका कामदार प्रेमबहादुरले भने, “त्यसपछि फेरि भारतीय एजेन्ट आएर हामीलाई लग्यो, काम लगाइदिने आश्वासन दिएर उ पनि फरार भयो ।” कामको आश्वासनमा मेनपावर कम्पनीले पठाएको ४०० अमेरिकी डलर अमृक सिंह भन्ने सो भारतीय एजेन्टलाई दिइएको उनले बताए ।

काम नपाएर अलपत्र परेका कामदारलाई पटक÷पटक डेरा सारिएको उनको भनाइ थियो । अलपत्र कामदार प्रेमबहादुरले भने, “हामी यहाँ आएदेखि नै काम दिनुको सट्टा दुई पटक डेरा सा¥यो ।” तत्कालका लागि खानाका केही प्रबन्ध गरेको भए पनि केही दिन अघिमात्रै आएको रसियन एजेन्टले मङ्गलबारदेखि खाना खान दिन नसक्ने र खानाको आफै व्यवस्था गर्न भनेको अलपत्र परेका कामदारको भनाइ छ ।

खान, बस्न, यातायात सुविधा, निरन्तर काम, जाँदा, आउँदा हवाई टिकट कम्पनीले व्यहोर्ने दोहोरो सम्झौता गरेर गएका उनीहरुले अहिलेसम्म कुनै पनि सेवा सुविधा प्राप्त गरेका छैनन् । “रोजगारदाता कम्पनी र कामदारबीच सेवा सुविधाको सम्बन्धमा दोहोरो सम्झौता भएको छ”, प्रेमबहादुरले भने, “तर कम्पनीले हामीलाई सम्झौता अनुसारको व्यवहार गरेको छैन ।”

दुई पक्षबीच भएको सम्झौताअनुसारको काम गर्ने वातावरण निर्माण गरिदिन पटक÷पटक म्यानपावर कम्पनीसँग आग्रह गरे पनि बेवास्ता गर्दै आएको उनिहरुको भनाइ छ । “हामीले पटक÷पटक मेनपावर सञ्चालकलाई काम दिलाइदिन आग्रह गरेका ग¥यैछौँ, उसले विभिन्न बहानामा टार्दै आएको छ”–अलपत्र परेका अर्का कामदार बोम देवान राईले भने, “म्यानपावर सञ्चालकले उल्टो हामीलाई धम्क्याउँदै आएको छ ।”

सो म्यानपावर कम्पनीले रसियाको सेन्ट पिटरवर्गस्थित फाइनभल कम्पनीबाट ‘गार्मेन्ट टेलर’को पदमा ४० पुरुष कामदारको माग ल्याएको थियो । म्यानपावरले चर्को सेवा शुल्क लिएर दुई चरणमा ३४ नेपालीलाई रसिया उडाएको थियो । पहिलो चरणमा गत फागुन २९ गते २५ युवा र चैत ७ गते नौ युवालाई रसिया उडाएको थियो ।

वैदेशिक रोजगार विभागले १० हजार सेवा शुल्क लिएर कामदार पठाउन उक्त म्यानपावर कम्पनीलाई स्वीकृति दिएको भए पनि कामदारसँग एक लाख ६० हजारदेखि तीन लाख २५ हजारसम्म असुलेको अलपत्र परेका कामदारले आरोप लगाएका छन् ।

उल्टो हप्काउँछन् दूतावासका कर्मचारी

दुई देशबीचको सम्बन्धलाई सुधार गर्दै जुनसुकै पक्षमा समस्या आइपरे कूटनीतिक ढङ्गबाट समाधान खोज्नका लागि क्रियाशील हुनुपर्ने नेपाली दूतावाससमेत अलपत्र कामदारको उद्धारमा मौन रहेको छ । आफूहरु तीन महीनादेखि अलपत्र परेको पटक÷पटक जानकारी गराउँदा पनि दूतावासले कुनै चासो व्यक्त नगरेको पीडित कामदारको भनाइ छ ।

“अलपत्र परेर दूतावासमा हारगुहार गर्दा उल्टो दूतावासका कर्मचारीले हप्काउछन”, अर्का कामदार विनोद गुरुङले भने, “काम गर्नका लागि सहजीकरण गरिदिनुको सट्टा ‘काम गर्न नजानेको भए किन आएको त’, ‘सुतेर तलब पाइन्छ भनेर आएको’ भन्दै हाम्रा पीडालाई हावामा उडाइ दिन्छन् ।” मस्कोस्थित नेपाली दूतावासले आफूहरुको समस्या समाधान गर्न कुनै चासो व्यक्त नगरेको पीडित कामदारको गुनासो छ । उद्धार गरेर आफूहरुलाई नेपाल फर्काइदिन उनिहरुले नेपाल सरकार र मस्कोस्थित नेपाली दूतावाससमक्ष आग्रह गरेका छन ।