२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

धनगढी । विहीबार राती आएको तीव्र गतिको आँधी हुरीले कैलाली सहित कंचनपुरमा ठूलो क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीका अनुसार शुक्रबार विहान ६ बजेसम्मको अपडेट अनुसार एक जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुुनेमा टीकापुर नगरपालिका–२ का लहानु चौधरी रहेका छन् । उडेर आएको घरको जस्तापाता लाग्दा उनको मृत्यु भएको हो ।
त्यस्तै, आँधी हुरीकै कारण घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा गोदावरी नगरपालिका–२ का जनक मल्ल, उनको छोरा गौतम मल्ल गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि भारत रेफर गरिएएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका–१२ की सरीता जोशी र धनगढी उपमहानगरपालिका–२ की शिवचना चौधरी गम्भीर घाइते बनेकी छिन् । उनीहरुको उपचार सेती अञ्चल अस्पताल धनगढीमा भैरहेको प्रहरी निरिक्षक डाँगीले जनाए ।
यो क्षेत्रको विद्युत सेवा राती ८ बजेदेखि नै अवरुद्ध भएको छ । विभिन्न क्षेत्रमा विद्युतका पोलहरु ढल्न गई सडक अवरुद्ध भएका छन । अधिकांशका घरका छाना उडेका छन् भने वनजंगलमा रुखहरु ढलेर सोत्तर भएका छन ।