२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौँ । बजेट भाषणसँगै बजारमा अस्वभाविक रुपले मूल्य बृद्धि भएको छ । ब्यापारीहरुले व्यवसायीले ढुवानीमा भ्याट र अन्तःशुल्क बढेको भन्दै कर नबढाइएका वस्तुको पनि भाउ बढाएपछि सामानको भाउ आकासिएको हो ।
सरकारले आगामी आर्थीक बर्षको बजेट भाषणमा ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्यण गरेको थियो । अन्तःशुल्क, भन्सार दर बढेका वस्तु आटा, चिप्स, चाउचाउ, जुसलगायत वस्तुमा मूल्य बढेको छ ।
भन्सार दर र अन्तःशुल्कमाथि ढुवानीमा भ्याट थप हुँदा एक दुई प्रतिशतसम्म मूल्य बढ्नु स्वाभाविक  भएपनि व्यापारीले सबै बस्तुको मूल्य बढाएका छन ।
खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार, खाद्य वस्तुको मूल्य एक किलोमै ४० रुपैयाँसम्म बढेको छ । तर उनि उद्योगी, आयातकर्ता र होलसेलरले मूल्य बढाएपछि खुद्रामा पनि सोही अनुपातमा बढ्नु स्वाभाविक भएको बताउँछन ।
संघका अनुसार बजेटअघि प्रतिकिलो १४० रुपैयाँ पर्ने मुङको दाल अहिले बढेर १८० पुगेको छ । मुङ खोस्टा १२० रुपैयाँबाट बढेर १ सय ५० रुपैयाँ पुगेको छ । ११० रुपैयाँ पर्ने मुसुरो १३० रुपैयाँमा कारोबार भएको छ । १३५ रुपैयाँ पर्ने रहर १५० रुपैयाँ, ११० रुपैयाँ पर्ने मास १३० रुपैयाँ पुगेको छ । चिनी प्रतिकिलो ७५ रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ । खाने तेलको मूल्य पनि बढेको छ ।
१३० रुपैयाँ पर्ने सोयाबिन तेल (लि) १४० रुपैयाँ, १३५ रुपैयाँ पर्ने सनफ्लावर तेल (लि) बढेर १५० रुपैयाँ र चामल प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म बढेको छ ।
व्यापारी आफूखुशी बजार भाउ बढाए पनि सरोकारवाला निकाय भने मौन देखिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले ढुवानीमा भ्याट लागेपछि खाद्यान्नलगायतको मूल्य पनि स्वतः बढ्ने बताउँछन । साथै उनले भन्सार दर र अन्तःशुल्कमाथि ढुवानीमा भ्याट थप हुँदा एक दुई प्रतिशतसम्म मूल्य बढ्नु स्वाभाविक भएपनि त्योभन्दा बढी बढ्नु गलत भएको बताउँछन ।
खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठ भने बजेट सार्वजनिक हुनुअगावै मूल्य वृद्धि भएको बताउँछन । तर दाल तथा गेडागुडीको मूल्य अस्वाभाविक बढेको उनको भनाई छ ।