तलब नपाएको झोंकमा मालिक्नीको हत्या गरी फरार अभियुक्त १९ वर्षपछि पक्राउ
काठमाडौं । हत्या गरेर फरार एक अभियुक्तलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । भक्तपुर कटुन्जेकी विजयश्वरी प्रजापतिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पर्सा सुवर्णपुरका देवीरमन अधिकारीलाई पक्राउ गरेको हो।
देवीरमनले २०५७ असार ८ मा विजयश्वरीको हत्या गरेका थिए । विजयश्वरीको हत्यापछि देवीरमन भारतमा लुकिछिपी बस्दै आएका थिए।
प्रहरीका अनुसार विजयश्वरीका श्रीमान तुलसीदास तत्कालीन पर्साका डिएफओ हुँदा देवीरमन सोही कार्यालयमा करारका कर्मचारी थिए । तुलसीदास मध्यमाञ्चल क्षेत्रीय वन कार्यालयमा सरुवा भएपछि उनले देवीरमनलाई घरमा सहयोगीको रुपमा राखेका थिए ।
देवीरमनलाई सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा ब्युरो प्रमुख डीआइजी निरज शाहीले भन ‘देवीरमनले तुलसीदास र विजयश्वरीसँग काम गरेबापत ११ हजार रुपैंया मागेको तर नदिएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको छ । भारतमा लुक्दै आएका देवीरमनलाई रुपन्देहीबाट पक्राउ र्गयौँ।’
कुटो र चक्कु प्रयोग गरेर विजयश्वरीको हत्यापछि देवीरमनले सुन र हिराका गरगहना र पैसा लिएर भागेको प्रहरीको भनाई छ ।
विजयश्वरीको हत्या लगत्तै देवीरमन रक्सौल, बनारस, महाराष्ट्रको पुणे र मुम्बईमा गएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतमा उनले छद्मनाम (प्रकाश अधिकारी) राखेर सवारी लाइसेन्स बनाएर गाडी हाक्दै आएका थिए।