चलचित्र ‘अधुरो’ एक दृश्य पाठशाला
सुर्खेत । एक दर्जन बढी सुर्खेती युवाको प्रयासमा सामाजिक कुरीतिले समाज विकासमा पार्ने प्रभावलाई चलचित्र ‘अधुरो’ पर्दामा उतारिएको छ । पुस्ता मिडिया प्रालिको ब्यानरमा यसको गीत र ‘ट्रिजर’ सोमबार सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरी र वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीले संयुक्तरुपमा सार्वजनिक गरे ।
विशेषगरी मध्य तथा सुदूरपश्चिम नेपालको ग्रामीण समाजमा विद्यमान संस्कृति एवं संस्कारमा यो चलचित्र आधारित छ । समाजमा अहिलेसम्म पनि कायम रहेको बालविवाह, छाउपडीजस्ता कुप्रथाले दिगो विकासमा पर्ने असरलाई यसले इङ्गित गरेको छ । ‘बिहेबारी, २० वर्ष पारी’ भन्ने सरकारको नारा कार्यान्वयनमा यस चलचित्रले सघाउने निर्देशक राजेश कुमालले जानकारी दिए ।
सार्वजनिक ‘अधुरो’ चलचित्रमा सुर्खेतको पर्यटकीय क्षेत्र ‘बुलबुले ताल’ भन्ने बोलको गीत र यसको ट्रिजरमा सुर्खेतकै चर्चित कलाकार टीका पुन र शिवसङ्गीतको आवाज तथा गोविन्द विश्वकर्माको शब्द सङ्गीत रहेको छ ।
१३ लाख लागतमा यो चलचित्र निर्माण भएको र अब छिट्टै यसलाई युट्युब तथा चलचित्र हलका माध्यमबाट नागरिक तहमा देखाइने भएको छ ।
सामाजिक अभियानकर्मी प्रमिला खड्काको कथा, किरण शर्माको पटकथा, राजेश कुमालको निर्देशन र गोविन्द विश्वकर्माको शब्द÷सङ्गीत रहेको चलचित्र ‘अधुरो’ मा किरण शर्मा, सुनिता सुनार, धर्मराज जिसी, राजेन्द्र खड्का, शिरिष श्रेष्ठ, निर्मला स्वर्णकार, विक्रम बर्मा, भूमिका परियार, सनोनी कुस्मी, इन्दिरा श्रेष्ठलगायतका सुर्खेती स्थानीय कलाकारले अभिनय गरेका छन् ।