२०८१ कार्तिक १८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ ।

ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिइएको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिए । महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई प्लेकार्ड, ब्यानर, अडियो, पर्चा पम्लेट वितरण गरेर सचेत गराएको थियो ।

यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणा धेरै मात्रामा लागू भए पनि पूर्णरूपमा भने लागू भएको थिएन ।
यातायात व्यवस्था विभागका अनुसार देशभर ३३ लाख तथा उपत्यकामा मात्र नौ लाख सवारीसाधन सञ्चालमा छन् ।