पर्यटक भुलाउँदै ठिनी
जोमसोम बजारको दक्षिणपट्टि एउटा रमणीय गाउँ छ, ठिनी । गाउँलेले ठिनीलाई ‘लुकेको हीरा’ मान्छन् । नीलगिरि हिमालको काखैमा छ, ठिनी गाउँ ।
ठिनीको चिनारी प्राकृतिक सौन्दर्य र भू–वनोटमा मात्र समेटिन्न । इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यले ठिनी सिँगारिएको छ । थकाली बाहुल्य ठिनी गाउँ मुस्ताङको उदाउँदो पर्यटकीय गन्तव्य हो ।
मुस्ताङ घुम्नेले ठिनीलाई लक्ष्य बनाउन थालेका छन् । जोमसोमदेखि दुई किमि दूरीमा उक्त गाउँ छ । जीप, मोटरसाइकलमा सजिलै पुग्न सकिन्छ । पैदल ३० मिनेट लाग्छ । वरिपरिका हिमाल, पठार र कन्दरा आँखामा सजाउँदै ठिनी पुगिन्छ ।
गाउँको सिरानमा पुग्दा लाग्छ, नीलगिरि आँखै अघि उभिएजस्तो । तलपट्टि छ शान्त र मनमोहक ठिनी गाउँ । जसले पर्यटक लोभ्याउँछ अनि भुलाउँछ । घरपझोङ गाउँपालिका–५ स्थित ठिनीको पर्यटन प्रवद्र्धनमा गाउँले कस्सिएका छन् ।
ठिनीसहित नजिकका सम्पदा संरक्षणको काम भइरहेको छ । उक्त गाउँलाई केन्द्रमा राखेर आसपासको पर्यटन विकासमा स्थानीयवासी जुटेका छन् । नजिकमा ढुम्बा ताल, घरपझोङ किल्ला, हिउँ चितुवा गुफा, कुछम तेरेङ्गा गुम्बालगायतका पर्यटकीय गन्तव्य छन् ।
त्यहाँ थकाली समुदायको संस्कृति र इतिहास झल्कने सङ्ग्रहालय छ । थकाली सामुदायिक घरवास (होमस्टे) अर्को आकर्षण हो । जम्मा १२ घरमा घरवास सुविधा छ । “पाहुनालाई थकाली खाना खुवाउँछौँ”, घरवास सञ्चालक समितिका सचिव जुमा थकालीले भनिन् ।

०७४ वैशाखदेखि ठिनीमा घरवास कार्यक्रम शुरु भएको हो ।
ठिनीबाट १० मिनेटमै पुगिने हिउँ चितुवा गुफाले पनि पर्यटक आकर्षित गर्ने गरेको छ । गुफामा ध्यान कक्ष बनाउने गाउँलेको योजना छ । गुफामाथिको नमखुलेकतिर हिउँ चितुवा डुल्ने गरेको स्थानीयवासी बताउँछन् ।