२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । आज बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । केहि दिनदेखि तापक्रम उच्च बढेको देशका अधिकांश भेगमा मंगलबार साँझ परेको पानीले राहत महसुस गरिएको छ ।
पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभावका तथा पूर्वको सीमा क्षेत्रमा पूर्वी वायुको प्रभावका कारण मौसम बदली भएको मौसमविद वरुण पौडेलले बताए । आज केही ठाउँमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको उनले बताए ।
त्यस्तै यो वर्षको मनसुन आज साँझ वा भोलीबाट देशको पुर्वी क्षेत्रबाट सुरु हुने मौसमविद् पोडेलले जानकारी दिए । नेपालमा मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्ने र अहिलेसम्म पनि त्यस्तो अवस्था नआएकाले ढिलाइ भएको पोडेलले जानकारी दिए । तर पूर्वबाट बिस्तारै पूर्वी वायुको प्रभाव देखिन थालेको छ । नेपालमा मनसुन भित्र्याउने पूर्वी वायु हो ।
पूर्वबाट प्रवेश गरेको मनसुन बिस्तारै मध्य तिर सर्ने छ । पश्चिमसम्म पुग्नका लागि भने समय लाग्नेछ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रने गर्छ । तर यो वर्ष प्रि मनसुन धेरै सक्रिय भएपनि मनसुन भित्रन भने ९ दिन ढिला भएको छ ।