२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका २ मा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका १७ मजदुरको सकुशल उद्धार गरिएको छ।
बिहीबार राति गएको सुख्खा पहिरोले सुरुङको प्रवेशद्वार थुनिँदा १७ मजदुर भित्रै थुनिएका थिए । सुरुङमार्गको एक सय मिटर भित्र काम गरिराखेका मजदुरको ११ घन्टापछि शकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । उनका अनुसार ११ नेपाली र छ चिनिया मजदुर मध्ये एक नेपाली कामदार समान्य घाइते भएका छन् ।
रसुवामा एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माणाधीन छ। सुरुङभित्र थुनिएकाहरुको उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी खटिएका थिए।

अडिट–४ टनेलभित्र कामदारहरु थुनिएको जानकारी पाएको १० मिनेटभित्रै खोज तथा उद्धारका लागि नेपाली सेनाको एक सेक्सन, सशस्त्र प्रहरीको २० जनाको टोली, जनपद प्रहरी ७ जना गरी ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।