२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । सरकारले अनुमति दिएको खण्डमा निजी क्षेत्रले भारत र बङ्गलादेशलाई करीब १७ हजार मेगावाट बराबरको विद्युत् बिक्री गर्न सकिने जनाएको छ । आन्तरिक रुपमा नै उद्योग स्थापना गरी विद्युत् खपत बढाएको खण्डमा स्वदेशमा नै विद्युत् उपलब्ध गराउन सकिने र त्यसो नभएको खण्डमा भने विदेशमा बिक्री गर्न सकिने निजी क्षेत्रको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अनुसार विद्युत् खरीद सम्झौता नभएका तर निर्माणमा जाने तयारीमा रहेका आयोजनाको क्षमता पाँच हजार ५५७ मेगावाट रहेको छ । यस्तै निजी क्षेत्रले अनुमति लिई अध्ययनमा रहेका आयोजनाको क्षमता ११ हजार २८९ मेगावाट रहेको छ ।

सरकारी कम्पनी तथा निजी क्षेत्रले हाल निर्माण गरिरहेका करीब पाँच हजार मेगावाट क्षमताका आयोजना पूर्णरुपमा सञ्चालनमा आउँदा तत्कालका नेपालको माग सम्बोधन गर्न सकिने भएकाले त्यसबाहेकका अन्य आयोजनाको विद्युत् बिक्रीका लागि उनीहरुले आग्रह गरेका हुन् ।

आगामी आर्थिक वर्ष्भित्र कूल एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप हुनेछ । हालसम्म एक हजार १७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध छ । आगामी आवमा एक हजार मेगावाट विद्युत् थप हुँदा आन्तरिक रुपमा नै दुई हजार १७० मेगावाट बराबरको विद्युत् उपलब्ध हुन्छ । सरकारले तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य निर्धारण गरेको छ ।

यस्तै दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको छ । विसं २०७५ देखि २०८५ सम्मलाई सरकारले ऊर्जा दशकका रुपमा घोषणा गरेको छ । इपानका अनुसार हाल निजी क्षेत्रले दुई हजार ५८२ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन् । यस्तै दुई हजार ९१० मेगावाट क्षमताका आयोजना विद्युत् खरीद सम्झौता भई निर्माणमा जाने तयारीमा छन् ।

हाल नेपालको कूल विद्युत् माग एक हजार ३०० मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रत्येक वर्ष विद्युत् माग १० प्रतिशतले वृद्धि हुँदै गएको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले आन्तरिक रुपमा नै विद्युत् खपत नहुने अवस्थामा निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बजार खोज्ने लक्ष्यका साथ आफूहरुले पहल गरेको बताए ।

इपानको प्रतिनिधिमण्डलले यही असार ३ देखि ५ गतेसम्म क्षेत्रीय ऊर्जा व्यापारको सम्भाव्यता तथा कार्यान्वयनबारे छलफल गर्न भारतको भ्रमण गरेको थियो । सोही भ्रमणका क्रममा भारतीय अधिकारीले नेपालको सरकारसँगै निजी क्षेत्रसँग समेत मिलेर जलविद्युत् क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेको जानकारी दिँदै अध्यक्ष गुरागाईंले सरकारले अनुमति दिएको खण्डमा आफूहरु पनि विद्युत् व्यापारका लागि तयार रहेको जनाएको बताए ।

नेपालमा जलविद्युत्को कूल ८३ मेगावाट क्षमता भएपनि सम्भाव्य रुपमा ४३ हजार मेगावाट निर्माणमा लागि उपयुक्त देखिएको छ ।
भारतीय पक्षले नेपालको निजी प्रवद्र्धकले अध्ययन तथा विकास गरिरहेका आयोजनाका सम्बन्धमा चासो व्यक्त गरेको जानकारी दिँदै उनले नेपालको जलविद्युत् भारतको बजारका सामु एउटा नयाँ सम्भावनाका रुपमा प्रस्तुत भएको छ । भारतीय पक्षले नेपालको जलविद्युत् भारतीय ऊर्जा बजारका लागि खुला रहेको आफूहरुसँगको भेटमा जानकारी गराएको इपानका उपाध्यक्ष कुमार पाण्डेले बताए ।