२०८१ चैत्र ४, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेकेहि दिनअघि एक सार्वजनिक कार्यक्रममा काठमाडौंको वायुप्रदूषणका बारेमा बोले । उनको भनेका थिएः म प्रधानमन्त्री भएका बेला मैले भनेको थिएँ— अब काठमाडौँमा नाक समातेर हिँड्नु पर्दैन । मैले मास्क लगाउनु पर्दैन भनेको थिएँ । म प्रधानमन्त्री भएका बेला आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो । अहिले मास्क लगाएर कोही पनि हिँड्दैन ।
उनले त्यति के भनेका थिए सामाजिक सञ्जालमा उनी हाँसोको पात्र बने । संसदमा समेत कुरा उठ्यो । एक जना सांसदले त प्रधानमन्त्रीलाई आफूसंग स्कुटरमा बसेर बनस्थलीसम्म जान चुनौतिसम्म दिइन ।
फेरि शुक्रबार प्रधानमन्त्री ओली भन्दै थिए सरकारको बिरोध गर्न मास्क लगाएका हुन । उसो त प्रधानमन्त्री ओली उखान टुक्का भन्न र हसाँउन माहिर नै छन । तर कहिले काँही उनको कुरा सुन्दा उनले आफ्नो पदनै बिर्सिएको भने झै भान हुन्छ ।
उनका कतिपय अभिव्यक्ति विवादास्पद र हाँसोको विषय बन्ने गरेको छ । पछिल्लो पटक काठमाडौंको वायु प्रदूषण सम्बन्धि प्रधानमन्त्रीको भनाइ चाहीं पूरै झूट भएको पाइएको छ । साउथएसिया चेक नामको एउटा वेव साइटले प्रधानमन्त्रीले भनेको कुराको अध्ययन गरेको छ । हेरौं सो साइटका लागि इन्जिना पन्थीले तयार पारेको यो सामाग्री जस्ताको त्यस्तै –

प्रधानमन्त्री के. पी. शर्मा ओलीले हालै काठमाडौँको वायु प्रदूषणको अवस्थालाई लिएर भनेः म प्रधानमन्त्री भएका बेला मैले भनेको थिएँ— अब काठमाडौँमा नाक समातेर हिँड्नु पर्दैन । मैले मास्क लगाउनु पर्दैन भनेको थिएँ । म प्रधानमन्त्री भएका बेला आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो । अहिले मास्क लगाएर कोही पनि हिँड्दैन ।

प्रधानमन्त्रीले काठमाडौँमा प्रदूषण छैन भनी भन्न खोजेकाले हामीले काठमाडौँमा प्रदूषणको अवस्था कस्तो छ भनी जाँच गरेका छौँ ।

काठमाडौँमा वायुको गुणस्तर कस्तो छ भनी नाप्ने वातावरण विभागले आफ्नो वेबसाइटमा सात दिनको मात्र आंकडा राख्छ । विगत दुई वर्षको यस्तो आंकडा माग्दा विभागका प्रवक्ताले प्रशोधन नगरेका आंकडा दिन नमिल्ने बताए । तर सो विभागले ती आंकडा अरूलाई भने दिने गरेको छ जसले त्यसलाई सामान्य प्रशोधन गरेर सार्वजनिक गरेको छ । विभागका आंकडामा आधारित सूचना दिने वेबसाइट मा उपल्बध आंकडा हेर्दा हामीले यस्तो अवस्था पायौँः

  • २०७६ साल असार १६ गते दिउँसो १० बजे काठमाडौँको रत्नपार्कको हावा प्रदूषित थियो । त्यतिबेला हावाको गुणस्तर सूचकांक १९० पुगेको थियो । सूचकांक १५० देखि २०० सम्म पुग्नुलाई हावा अस्वस्थकर भएको मानिन्छ । यति बेला “सबैले स्वास्थ्यमा असर परेको महसुस गर्छन् । संवेदनशील अवस्थाका मानिसले स्वास्थ्यमा अझ बढी गम्भीर असर परेको महसुस गर्छन् ।”
  • सोही दिन ११ बजे अमेरिकी दूताबास, फोहरा दरबारको हावाको गुणस्तर सूचकांक १०९ थियो । प्रदूषण सूचकांक १०१ देखि १५० सम्म हुनुलाई “संवेदनशील मानिसका लागि अस्वस्थ” मानिन्छ । यति बेला दमजस्ता स्वासप्रश्वासको समस्या भएका मानिसले घरबाहिर बसेर शारीरिक श्रम गर्नुहुँदैन भनिन्छ ।
  • त्यसको एक घण्टापछि रत्नपार्कको वायुको गुणस्तर सामान्य (सूचकांक ६०) भयो भने अमेरिकी दूताबास, फोहरा दरबारको वायूको गुणस्तर ११ बजेको भन्दा खस्किएर गयो । त्यतिबेला त्यहाँको हावाको गुणस्तरको सूचकांक १२७ थियो । यस्तो गुणस्तरको वायू संवेदनशील मानिसका लागि अस्वस्थकर मानिन्छ ।

हामीले सोही वेबसाइटमा उपलब्ध आंकडामा काठमाडौँका विभिन्न ठाउँको हावाको गुणस्तर कस्तो देखिन्छ भनेर पनि हेरेका छौँ ।

सन् २०१८ र २०१९ का विभिन्न महिनामा काठमाडौँका विभिन्न ठाउँको वायुको गुणस्तर (पीएम २.५ र पीएम १० का आधारमा) यस प्रकार भेटियोः

 

२०१९ को जुन महिनाका ३० दिनमा काठमाडौँका दुई ठाउँको वायुको गुणस्तरको अवस्था (एकदमै साना कण (पीएम २.५) का आधारमा) यस्तो थियोः

अमेरिकी दूताबास, काठमाडौँ अमेरिकी दूताबास, फोहरा दरबार
२ दिन ७ घण्टा २३ घण्टा राम्रो
२० दिन २१ घण्टा १७ दिन ६ घण्टा सामान्य
६ दिन १७ घण्टा १२ दिन ७ घण्टा विशेष अवस्थाका मानिसका लागि अस्वस्थकर
१४ घण्टा १ दिन १५ घण्टा सामान्य अवस्थाका मानिसका लागि समेत अस्वस्थकर

स्रोतः

अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट र वातावरण संरक्षण संस्थाले अमेरिकी राजदूताबास र कन्सुलेटसँग मिलेर संसारका विभिन्न ठाउँको वायुको गुणस्तर नाप्ने गरेका छन् । सोही प्रयास अन्तर्गत मापन गरिएको काठमाडौँस्थित अमेरिकी दूताबास भएको ठाउँको वायुको गुणस्तर सम्बन्धी तथ्यांक पनि हामीले हेरेका छौँ । यो आंकडा पीएम २.५ अर्थात् वायुमा रहेका २.५ माइक्रोन वा सोभन्दा साना कणको हो । यहाँ हामीले जनवरी २०१८ र जनवरी २०१९, फेब्रुअरी २०१८ र फेब्रुअरी २०१९ अनि मे २०१८ र २०१९ को अवस्थाको तुलना गरेका छौँ ।

  • सोही आंकडा अनुसार सन् २०१८ को जनवरीमा भन्दा २०१९ को जनवरीमा २१ दिनसम्म काठमाडौँस्थित अमेरिकी दूताबासमाथिको वायुमा प्रदूषण (पीएम २.५) को मात्रा बढी थियो ।
  • सन् २०१९ जनवरीमा प्रदूषण सूचकांक २७६ सम्म पुगेको थियो । यसलाई धेरै अस्वस्थकर मानिन्छ । सन् २०१८ को जनवरीमा प्रदूषण सूचकांक २७३ सम्म पुगेको थियो ।
  • सन् २०१८ को मे महिनामा भन्दा २०१९ को मे महिनामा २४ दिनसम्म काठमाडौँस्थित अमेरिकी दूताबासमाथिको वायुमा प्रदूषण (पीएम २.५) को मात्रा बढी थियो ।
  • मे २०१९ मा प्रदूषण सूचकांक ४३१ सम्म पुगेको थियो । यसलाई खतरनाक मानिन्छ । सन् २०१८ को मे महिनामा चाँहि प्रदूषण सूचकांक १७० सम्म पुगेको थियो ।

यी सबै प्रमाणका आधारमा के भन्न सकिन्छ भने काठमाडौँको वायुको गुणस्तर प्रधानमन्त्रीले दावी गरेजस्तो राम्रो छैन । स्रोत : southasiacheck.org