प्रधानमन्त्री किन झूट बोल्छन ? हेर्नुहोस् झूटको पर्दाफास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेकेहि दिनअघि एक सार्वजनिक कार्यक्रममा काठमाडौंको वायुप्रदूषणका बारेमा बोले । उनको भनेका थिएः म प्रधानमन्त्री भएका बेला मैले भनेको थिएँ— अब काठमाडौँमा नाक समातेर हिँड्नु पर्दैन । मैले मास्क लगाउनु पर्दैन भनेको थिएँ । म प्रधानमन्त्री भएका बेला आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो । अहिले मास्क लगाएर कोही पनि हिँड्दैन ।
उनले त्यति के भनेका थिए सामाजिक सञ्जालमा उनी हाँसोको पात्र बने । संसदमा समेत कुरा उठ्यो । एक जना सांसदले त प्रधानमन्त्रीलाई आफूसंग स्कुटरमा बसेर बनस्थलीसम्म जान चुनौतिसम्म दिइन ।
फेरि शुक्रबार प्रधानमन्त्री ओली भन्दै थिए सरकारको बिरोध गर्न मास्क लगाएका हुन । उसो त प्रधानमन्त्री ओली उखान टुक्का भन्न र हसाँउन माहिर नै छन । तर कहिले काँही उनको कुरा सुन्दा उनले आफ्नो पदनै बिर्सिएको भने झै भान हुन्छ ।
उनका कतिपय अभिव्यक्ति विवादास्पद र हाँसोको विषय बन्ने गरेको छ । पछिल्लो पटक काठमाडौंको वायु प्रदूषण सम्बन्धि प्रधानमन्त्रीको भनाइ चाहीं पूरै झूट भएको पाइएको छ । साउथएसिया चेक नामको एउटा वेव साइटले प्रधानमन्त्रीले भनेको कुराको अध्ययन गरेको छ । हेरौं सो साइटका लागि इन्जिना पन्थीले तयार पारेको यो सामाग्री जस्ताको त्यस्तै –
प्रधानमन्त्री के. पी. शर्मा ओलीले हालै काठमाडौँको वायु प्रदूषणको अवस्थालाई लिएर भनेः म प्रधानमन्त्री भएका बेला मैले भनेको थिएँ— अब काठमाडौँमा नाक समातेर हिँड्नु पर्दैन । मैले मास्क लगाउनु पर्दैन भनेको थिएँ । म प्रधानमन्त्री भएका बेला आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो । अहिले मास्क लगाएर कोही पनि हिँड्दैन ।
प्रधानमन्त्रीले काठमाडौँमा प्रदूषण छैन भनी भन्न खोजेकाले हामीले काठमाडौँमा प्रदूषणको अवस्था कस्तो छ भनी जाँच गरेका छौँ ।
काठमाडौँमा वायुको गुणस्तर कस्तो छ भनी नाप्ने वातावरण विभागले आफ्नो वेबसाइटमा सात दिनको मात्र आंकडा राख्छ । विगत दुई वर्षको यस्तो आंकडा माग्दा विभागका प्रवक्ताले प्रशोधन नगरेका आंकडा दिन नमिल्ने बताए । तर सो विभागले ती आंकडा अरूलाई भने दिने गरेको छ जसले त्यसलाई सामान्य प्रशोधन गरेर सार्वजनिक गरेको छ । विभागका आंकडामा आधारित सूचना दिने वेबसाइट मा उपल्बध आंकडा हेर्दा हामीले यस्तो अवस्था पायौँः
- २०७६ साल असार १६ गते दिउँसो १० बजे काठमाडौँको रत्नपार्कको हावा प्रदूषित थियो । त्यतिबेला हावाको गुणस्तर सूचकांक १९० पुगेको थियो । सूचकांक १५० देखि २०० सम्म पुग्नुलाई हावा अस्वस्थकर भएको मानिन्छ । यति बेला “सबैले स्वास्थ्यमा असर परेको महसुस गर्छन् । संवेदनशील अवस्थाका मानिसले स्वास्थ्यमा अझ बढी गम्भीर असर परेको महसुस गर्छन् ।”
- सोही दिन ११ बजे अमेरिकी दूताबास, फोहरा दरबारको हावाको गुणस्तर सूचकांक १०९ थियो । प्रदूषण सूचकांक १०१ देखि १५० सम्म हुनुलाई “संवेदनशील मानिसका लागि अस्वस्थ” मानिन्छ । यति बेला दमजस्ता स्वासप्रश्वासको समस्या भएका मानिसले घरबाहिर बसेर शारीरिक श्रम गर्नुहुँदैन भनिन्छ ।
- त्यसको एक घण्टापछि रत्नपार्कको वायुको गुणस्तर सामान्य (सूचकांक ६०) भयो भने अमेरिकी दूताबास, फोहरा दरबारको वायूको गुणस्तर ११ बजेको भन्दा खस्किएर गयो । त्यतिबेला त्यहाँको हावाको गुणस्तरको सूचकांक १२७ थियो । यस्तो गुणस्तरको वायू संवेदनशील मानिसका लागि अस्वस्थकर मानिन्छ ।
हामीले सोही वेबसाइटमा उपलब्ध आंकडामा काठमाडौँका विभिन्न ठाउँको हावाको गुणस्तर कस्तो देखिन्छ भनेर पनि हेरेका छौँ ।
सन् २०१८ र २०१९ का विभिन्न महिनामा काठमाडौँका विभिन्न ठाउँको वायुको गुणस्तर (पीएम २.५ र पीएम १० का आधारमा) यस प्रकार भेटियोः



२०१९ को जुन महिनाका ३० दिनमा काठमाडौँका दुई ठाउँको वायुको गुणस्तरको अवस्था (एकदमै साना कण (पीएम २.५) का आधारमा) यस्तो थियोः
| अमेरिकी दूताबास, काठमाडौँ | अमेरिकी दूताबास, फोहरा दरबार | |
| २ दिन ७ घण्टा | २३ घण्टा | राम्रो |
| २० दिन २१ घण्टा | १७ दिन ६ घण्टा | सामान्य |
| ६ दिन १७ घण्टा | १२ दिन ७ घण्टा | विशेष अवस्थाका मानिसका लागि अस्वस्थकर |
| १४ घण्टा | १ दिन १५ घण्टा | सामान्य अवस्थाका मानिसका लागि समेत अस्वस्थकर |
अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट र वातावरण संरक्षण संस्थाले अमेरिकी राजदूताबास र कन्सुलेटसँग मिलेर संसारका विभिन्न ठाउँको वायुको गुणस्तर नाप्ने गरेका छन् । सोही प्रयास अन्तर्गत मापन गरिएको काठमाडौँस्थित अमेरिकी दूताबास भएको ठाउँको वायुको गुणस्तर सम्बन्धी तथ्यांक पनि हामीले हेरेका छौँ । यो आंकडा पीएम २.५ अर्थात् वायुमा रहेका २.५ माइक्रोन वा सोभन्दा साना कणको हो । यहाँ हामीले जनवरी २०१८ र जनवरी २०१९, फेब्रुअरी २०१८ र फेब्रुअरी २०१९ अनि मे २०१८ र २०१९ को अवस्थाको तुलना गरेका छौँ ।

- सोही आंकडा अनुसार सन् २०१८ को जनवरीमा भन्दा २०१९ को जनवरीमा २१ दिनसम्म काठमाडौँस्थित अमेरिकी दूताबासमाथिको वायुमा प्रदूषण (पीएम २.५) को मात्रा बढी थियो ।
- सन् २०१९ जनवरीमा प्रदूषण सूचकांक २७६ सम्म पुगेको थियो । यसलाई धेरै अस्वस्थकर मानिन्छ । सन् २०१८ को जनवरीमा प्रदूषण सूचकांक २७३ सम्म पुगेको थियो ।
- सन् २०१८ को मे महिनामा भन्दा २०१९ को मे महिनामा २४ दिनसम्म काठमाडौँस्थित अमेरिकी दूताबासमाथिको वायुमा प्रदूषण (पीएम २.५) को मात्रा बढी थियो ।
- मे २०१९ मा प्रदूषण सूचकांक ४३१ सम्म पुगेको थियो । यसलाई खतरनाक मानिन्छ । सन् २०१८ को मे महिनामा चाँहि प्रदूषण सूचकांक १७० सम्म पुगेको थियो ।
यी सबै प्रमाणका आधारमा के भन्न सकिन्छ भने काठमाडौँको वायुको गुणस्तर प्रधानमन्त्रीले दावी गरेजस्तो राम्रो छैन । स्रोत : southasiacheck.org

