इस्टर्न रिजन क्रिकेट : मलेसियालाई सस्तैमा हराउँदै नेपाल फाइनलमा
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले मलेसियालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
साबिकको विजेता समेत रहेको नेपालले अब फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा भिम सार्कीले अविजित रहदै ३३ रन बनाए । यस्तै कप्तान रोहित कुमार पौडेलले अविजित ३१ रन बनाए । मलेसियाका हैकल मोहमद खेरले २ तथा मुहमद आमीरले १ विकेट लिए । यस्तै पवन सर्राफले १८ रन जोड्दा रित गौतम ३ तथा खड्क बोहोरा सुन्य रनमा आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए ।
फाइनल खेल मंगलबार हुनेछ ।