२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । नेपालमा वर्षमा साढे छ सय म्याट्रिक टन विषादीहरू भित्रने गरेको पाइएको छ । सरकारी तथ्याङ्क अनसार त्यसरी भित्रिने विषादीहरू १७० प्रकारका रहेका र तीमध्ये दुई तिहाइभन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेका छन्।
तर यसलाई जाँच्ने सरकारी संयन्त्र नहुँदा धेरैको भान्सामा बिषादीयुक्त तरकारी र फलपूmल पुग्ने गरेको छ । यतिबेला भारतबाट आयात हुने तरकारीमा प्रयोग भएको बिषादीको कुरा चर्को रुपमा उठे पनि नेपालको आफ्नै उत्पादनको पनि बिषादी परीक्षण गरिनुपर्ने आवाज उठन थालेको छ ।
सामान्यतः विषादीका एक दर्जनभन्दा बढी समूहमध्ये नेपालमा दुईवटा समूह मात्र जाँच्न सकिने प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्मा बताए । शर्मा भन्छन,‘कुनै पनि सीमामा हामीले प्रभावकारी जाँच गर्न सक्ने अवस्थामा छैनौँ। देशका सातवटै ठाउँमा भएका प्रयोगशाला एकैखाले हुन्।’
रोग र किराहरू जाँच्ने क्वारेन्टाइन सबै सीमा नाकामा भएपनि विषादी जाँच्ने काम सूक्ष्म ढङ्गले गर्नुपर्ने हुँदा त्यसमा समस्या भएको सरकारी भनाई छ । केन्द्रीय कृषि प्रयोगशालाले कहिले काही छड्के जाँचका क्रममा विषादीको प्रयोग पनि जाँच्ने गर्छ। तर ती मुख्य बजारमा मात्र केन्द्रीत हुँदा त्यसको औचित्यमाथि उपभोक्ता अधिकारकर्मीहरूले प्रश्न उठाउने गरेका छन्।
काठमाण्डौंको कालिमाटी तरकारी बजारमा विसं २०७१ देखि २०७६ जेठ १५ सम्म गरिएका ७,४४३ नमुना परीक्षणमा ६४ वटा खान अयोग्य पाइएको र ३५ वटा क्वारेन्टाइनमा पठाइएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाका प्रमुख कान्चनराज पाण्डेका अनसार सङ्कलन गरेर ल्याइएका तरकारी काठमाण्डू आइपुग्दा कहाँबाट आएको हो भन्ने थाहा हुँदैन। जसले गर्दा कारबाहीको प्रक्रियामा जान गाह्रो छ ।
केरा वा आँप पकाउने र गोलभेँडा रातो बनाउने क्याल्सियम कार्बाइडजस्ता विषादी प्रतिबन्धित भए पनि खुला सीमामार्फत् नेपाल भित्रने गरेका छन । अक्सिटोसिनजस्ता विषादी नेपालभित्र तरकारीको आकार बढाउन व्यापक प्रयोग भएको पाइए पनि त्यसको जाँच गर्ने क्षमता सरकारसँग छैन।
नेपालमा अझै पनि धेरै कृषकहरूले विषादीको मात्रा र त्यसको अवधिबारे पूर्ण रूपमा जानकार नहुँदा समस्या देखिने गरेको विज्ञहरू बताउँछन्।