बीस हजार इञ्जिनीयरको सामूहिक बीमा गरिने
काठमाडौं । बीस हजार इञ्जिनीयरको एकै पटक सामूहिक दुर्घटना बीमा हुने भएको छ । जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले नेपाल इञ्जिनियर्स एशोसिएशनबाट आयोजना हुने ५७औं इञ्जिनीयर दिवसका अवसरमा प्रतिव्यक्ति १० लाखका दरले दुर्घटना बीमा गर्न गर्न लागिएको हो ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्यले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा इञ्जिनीयरको सामूहिक दुर्घटना बीमा गर्न लागिएको जानकारी दिनुभयो । बीमाङ्कबापतको पहिलो किस्ता रकम भने एशोसिएशन आफैँले उपलब्ध गराउने भएको छ । त्यसमा रु ५० लाख उपलब्ध गराएर बीमा शुरु गरिनेछ ।
पहिलो चरणमा शुरु गरिएको बीमालाई विस्तार गर्दै लैजाने सोचमा रहेको जानकारी दिँदै अध्यक्ष बज्राचार्यले भने, “जुन स्थानमा हाम्रा इञ्जिनीयरले काम गर्नुहुन्छ, सोही स्थानमा नै एक प्रकारको समझदारी गरी बीमा रकम उपलब्ध गराउन प्रयास गरिनेछ ।” प्रगतिशील गठबन्धन बनाएर निर्वाचनमा गएको वर्तमान कार्यसमितिले निर्वाचनका समयमा गरिएकोे प्रतिबद्धता पूरा गर्न लागेको अध्यक्ष बज्राचार्यको भनाइ थियो ।
एशोसिएशनका महासचिव छविराज पोखरेलका अनुसार इञ्जिनीयरलाई थप व्यावसायिक एवं दक्ष बनाउने र जीवन सुरक्षाका लागि समेत बीमा कार्यक्रम अगाडि बढाउन लागिएको हो ।
नेपाल इञ्जिनीयरिङ परिषद्का अनुसार हाल देशभर ५० हजार इञ्जिनीयर छन् भने एशोसिएशनमा आबद्ध भएका इञ्जिनीयरको संख्या २७ हजार छ ।