विप्लव समूहका काठमाडौं उपत्यका व्यूरो इञ्चार्ज माइला लामा पक्राउ
काठमाडौं । प्रहरीले भूमिगत विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ । गएराती काठमाडौंको काँडाघारीबाट लामा पक्राउ परेका हुन ।
महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले गएराति करिब साढे १२ बजेतिर लामालाई नियन्त्रणमा लिइएको बताए । लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएको एसएसपी थापाले जानकारी दिए ।
प्रहरीले माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा संलग्न रहेको दाबी गरेको छ ।
काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए ।
लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका हुन ।