२०८१ चैत्र १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

पाचथर । पहिरो झरेपछि अवरुद्ध बनेको मेची राजमार्गको राँके–फिदिम खण्ड आजदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा पर्ने पाङ्ग्रेभिरमा पहिरो खसेर गत बुधबारदेखि अवरुद्ध बनेको मेची राजमार्ग आइतबारदेखि आंशिक रुपमा खुलेको हो । प्रजिअ मुरारी वस्तीका अनुसार सडकमा झरेको पहिरो पन्छाइएसँगै आंशिक रुपमा सडक खुलेको हो । यद्यपि सडकभन्दा माथि अझै ठूलो परिमाणमा पहिरो रहेकाले विशेष सतर्कताका साथ सवारी आवत–जावतको व्यवस्था मिलाइएको उनले बताए ।

पाङ्ग्रेभिरमा सडकबाट स्काभेटरले भेटेसम्म पहिरो हटाउने कार्य सकिएसँगै आइतबार करीब पाँच दर्जन सवारीले पहिरो पार गरेका थिए । पहिरोको वारिपारि रोकिएका पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कृषि उपज बोकेका सवारी साधन पार गराइएको प्रजिअ वस्तीले वताए । “सडकमाथि ठूलो परिमाणमा पहिरो अडिएको छ । कतिबेला झर्छ भन्ने टुङ्गो हुँदैन”, प्रजिअ वस्तीले भने, “झरेको पहिरो पन्छाउँदै सवारी आवागमन सञ्चालन गर्ने प्रयत्न भइरहेको छ ।”

पहिरो जुनसुकै बेला झर्न सक्ने भएकाले दुई वटा स्काभेटर तयार अवस्थामा राखिएको छ भने आवश्यक सतर्कताका लागि उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकलाई दिउँसो मात्रै सञ्चालन गर्ने तयारी गरिएको छ । “पहिरो झरिसक्न कैयौँ दिन लाग्ने देखिन्छ । ठूलो वर्षा भए अझै पहिरो खस्न सक्छ”, प्रजिअ वस्तीले भने, “रातको समयमा सडक सञ्चालन गर्न तत्काल सम्भव छैन ।”

यस्तै पहिरोबाट सडक लामो समय अवरुद्ध हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै यहाँ नौ किलोमिटर लामो वैकल्पिक सडक स्तरोन्नतिको कार्य शनिबारदेखि शुरु भएको छ । मेची राजमार्गको गुम्बाडाँडाबाट निवु खोला हुँदै राँके बजार जोड्ने उक्त सडकको स्तरोन्नतिको कार्य अघि बढाइएको प्रजिअ वस्तीले जानकारी दिए । उक्त सडकको ४.५ किलोमिटरमा साना सवारीका साधन निर्बाध सञ्चालन भए पनि बाँकी खण्डमा वर्षाका कारण समस्या भएकाले ढुङ्गा सोलिङ थालिएको छ । उक्त सडक सोमबारसम्ममा सञ्चालनमा आउने प्रजिअ वस्तीको भनाइ छ ।

पाङ्ग्रेभिरमा बुधबार राति पहिरो झरेपछि बिहीवार, शुक्रबार र शनिबार सवारी आवागमन ठप्प भएको थियो । यात्रुहरुले करीब ३० मिनेट पैदल यात्रा गरेर करीब एक किलोमिटर मुनिबाट पहिरो पार गर्दै आएका थिए । पहिरोको दुवैतर्फ रहेका सवारीका साधनले यात्रुलाई गन्तव्यमा पु¥याइरहेका थिए । पहिराका कारण पाँचथर, ताप्लेजुङ र पूर्वी तेह्रथुममा उत्पादित कृषि उपज सवारीका साधनमै कुहिने अवस्था आएको थियो