२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

फिदिम । मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा गत वर्ष राजा यलम्बरको चिटिक्क परेको मूर्ति राखियो । वरपीपलको रुखमुनि निर्माण गरिएको चौतारो र बिचमा रहेको मूर्तिले धेरैलाई आकर्षण गथ्र्यो । मेची राजमार्गमा यात्रा गर्ने यहाँ बसेर आनन्द लिन्थे तर यही स्थानमा सोमबार बिहान गम्भीर दुर्घटना भयो ।

मूर्ति राख्नका लागि जोडबल गर्नेमध्येकै दुई जनाको ज्यान गयो । एक जना घाइते भए । उक्त निर्माणाधीन यलम्बर पार्कको १९ दिन अघि ढलान गरिएको छतले किच्दा स्थानीयवासी ५० वर्षीय जगतबहादुर राई र ५१ वर्षीय रुद्र राईको घटनास्थलमै ज्यान गयो । ढलानको सटिङ खुस्काउने क्रममा ढलान खसेको प्रत्यक्षदर्शीको भनाइ छ ।

घटनापछि गुणस्तरहीन निर्माणका कारण गम्भीर दुर्घटना भएको भन्दै स्थानीय तह, प्राविधिक तथा जनप्रतिनिधिको आलोचना भयो तर यथार्थ आरोपभन्दा फरक छ ।

हिलिहाङ गाउँपालिका–७ कार्यवाहक वडाध्यक्ष सुनमान तामाङसँग उक्त वडामा खटिएका गाउँपालिकाका प्राविधिकले उपभोक्ता समितिले आफूहरुको सल्लाह लिन नमानेको गुनासो गर्ने गरेको सुनाउँछन । “उक्त योजनामा खटिएका प्राविधिकमाथि पटक–पटक दुव्र्यवहार भएको थियो”, तामाङले भने, “उपभोक्ता समितिका पदाधिकारीले जबर्जस्ती गर्दा यस्तो परिणाम आइप¥यो ।” यलम्बर पार्कमा अघिल्लो आर्थिक वर्षमा नै भुई तहको काम सम्पन्न भएको थियो । गत आवमा वडाबाट पार्कको घेराबारका लागि रु एक लाख बजेटको योजना प्रस्ताव गाउँपालिकामा गएको थियो । गाउँसभाले रु एक लाखले अपेक्षित काम हुन नसक्ने भन्दै थप रु एक लाख विनियोजन गर्ने निर्णय गरेको थियो । हिलिहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीन दाहालका अनुसार घेराबारका लागि बजेट छुट्टयाइएको भए पनि उपभोक्ताले ठूलो रकम आएको भन्दै छत ढलान गर्ने योजना अघि बढाएका थिए तर उपभोक्ता समितिका पदाधिकारीले उक्त वडामा खटिएका प्राविधिकको सल्लाह लिएनन् ।

जनप्रतिनिधिको सुझावसमेत कार्यान्वयन गरेनन् । अझ उनीहरुमध्ये केहीले आफूहरु निर्माण कार्यमा दक्ष मिस्त्री भएको भन्दै प्राविधिकलाई दुव्र्यवहार गरे । “वडा नं ७ मा काम गर्न धेरै गाह्रो भयो भनेर प्राविधिकले गुनासो गर्नुहुन्छ । हामीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायतलाई भन्दै आएका पनि थियौँ”, प्रमुख प्रशासकीय अधिकृत दाहालले भने, “तर यही योजनामा अवरोध र दुव्र्यवहार भएको भनेर सुनाउनुभएको थिएन ।” प्राविधिकको सल्लाह मान्न अस्वीकार गरेका उनीहरुले आफ्नै विवेकले छत ढलान गरेका थिए ।

अघिल्लो वर्ष नै निर्माण गरिएका पिल्लरलाई आधार मानेर ढलान गर्ने क्रममा चित्रा ओछ्याइएको, टाइपिङ नसकिएको, गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको प्रमुख प्रशासकीय अधिकृत दाहालको भनाइ छ । उपभोक्ता समितिले समेत ठेक्का लगाउनु, निर्माणको न्यूनतम मापदण्ड पूरा हुन नसक्नु, बालुवा र गिट्टीसमेत गुणस्तरहीन प्रयोग गर्नुले गम्भीर दुर्घटना भएको उहाँको भनाइ छ । वडाध्यक्ष तामाङ पनि प्राविधिकले पटक–पटक गुनासो गरेपछि आफूले सम्झाउने प्रयास गर्दासमेत उपभोक्ता समितिका पदाधिकारीले नमानेको बताउँछन ।
दुई लाखको उक्त योजना सम्पन्न गर्न स्थानीय टेकबहादुर राईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो तर उपभोक्ता समितिले मृतक जगतबहादुर राई, रुद्र राईसहित अन्य स्थानीयलाई निर्माणको ठेक्का दिएको पाइएको वडाध्यक्ष तामाङको भनाइ छ । ढलान गरे पनि काम गुणस्तरहीन भएको भन्दै गाउँपालिकाले गत असार २९ गते रु एक लाख ५३ हजार रकम निकासा दिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिए ।
प्रहरीले समेत निर्माण कार्य गुणस्तरहीन र प्राविधिक स्टिमेट एवं प्राविधिकको सल्लाह नै नलिई गरिएका कारण सटिङ खुस्काउने क्रममा सबै ढलान खसेको पाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भने, “ढलान भएको छत सबै भाँचिएको, फुटेको छ । गुणस्तरीय भएको भए यस्तो नहुनुपर्ने हो ।” स्थानीयवासी ढलानका लागि लगाइएको सटिङमा मात्रै ढलान अडिएको, करीब १८ फुट लम्बाइको ढलानको बीचमा पिल्लर नभएका कारण छत झरेको बताएका छन् । मृतक दुवैको सोमबार पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस