नाम र राजधानीमा सहमति : प्रदेश १ को नाम ‘कोशी’ , राजधानी विराटनगर
विराटनगर । प्रदेश १ को नाम कोशी राखिने भएको छ । लामो समयको छलफल र गृहकार्यपछि कोशीका नाममा सहमति जुटेको हो । प्रदेशसभा उच्च स्रोतले दिएको जानकारी अनुसार, उपयुक्त वातावरण बन्नासाथ यसको घोषणा गरिने छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, सत्तारुढ नेकपा लगायत अन्य दलहरुले पनि सहमति जनाएपछि प्रदेशको नाम कोशी राख्ने प्रस्ताव प्रदेशसभामा लैजाने तयारी गरिएको छ । संभवत प्रदेशसभाको यही अधिवेशन वा अर्को अधिवेशनवाट प्रदेशको नाम टुंगो लगाइनेछ ।
स्रोतका अनुसार, राजधानी भने विराटनगर तोकिने सहमति भएको छ । राजधानीको विषयलाई लिएर धनकुटामा आन्दोलन गरिएपनि त्यसमा सहमति जुट्न सकेन । तर त्यहाँ मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोल्ने गरी विवाद मिलाउने प्रयास जारी छ । विशेषगरी नेपाली कांग्रेसले प्रदेशको नाम जेसुकै भएपनि राजधानी विराटनगर नै तोकिनुपर्ने अडान नछाडेपछि विराटनगरलाई नै राजधानी तोकिने भएको छ । ठाउँ अभाव देखाउँदै इटहरीमा राजधानी राख्न नसकिने निस्कर्ष निकालिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत यी नाममा सकारात्मक भएपछि चाँडै प्रदेशको नाम र राजधानी तोकिने प्रदेश सरकारका एक मन्त्रीले बताए । यद्यपी प्रदेश १ को सभाबाट नाम र राजधानी प्रस्ताव गर्ने समय आगामी बैशाख २२ सम्म थपिएको छ ।