पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने, साधारण तारिकमा मुद्दा लड्न पाउनु पर्ने माग खारेज ।
काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् ।
जिल्ला अदालत काठमाडौंले यसअघि महरालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो । थुना आदेश गैरकानुनी रहेको दावी सहित महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनले साधारण तारेखमा बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए ।
तर उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुंवरको संयुक्त इजलासले जिल्ला अदालतकै आदेश सदर गरेको हो । जिल्ला अदालतको सदर भएसँगै अब महराले थुनामै बसेर मुद्दाको सामना गर्ने अन्नपुर्ण पोस्टमा ख़बर छ ।
महराको निवेदनमा सुनुवाइपछि जिल्लाको आदेश सदर भएपछि बिहीबार साँझ महरालाई सदरखोर डिल्लीबजारमै लगिएको छ । महराको सुनुवाइको क्रममा उनीसँगै विवादमा मुछिएकी रोशनी शाही पनि इजलासमै थिइन् ।
रोशनीले महराबाट आफूमाथि दुव्र्यवहार नभएको भन्दै अदालतमा वकपत्र गरेकी छन् । तर आफूमाथि महराबाट बलात्कार प्रयास भएको भन्दै घटनालगत्तै बानेश्वर प्रहरी वृत्तमा रोशनीले नै किटानी जाहेरी दिएकी थिइन् ।
शाहीमाथि जबरजस्ती करणी गरेको प्रारम्भिक प्रमाण भेटिएको भन्दै जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई कात्तिक १८ गते डिल्लीबजारस्थित कारागारमा राख्न आदेश दिएको थियो।
पुर्पक्षमा जेल पठाउने आदेशविरुद्ध महरा उच्च अदालत पाटनमा मंसिर ५ गते निवेदन दर्ता गरेका थिए। महराको निवेदनको सुनुवाइ गर्दै मंसिर ६ गते उच्च अदालतका मुख्य न्यायाधीश सुवेदीको एकल इजलासले जिल्ला अदालतले आदेश दिँदाको आधार र सक्कल मिसिल पठाउन आदेश दिएको थियो। महरा असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ परेका थिए।