बालचन्द्र सुब्बाले भारतीय दादागिरी बिरुद्ध लेखेको कविता- भूँइ मान्छे
– बालचन्द्र सुब्बा
भूँइ मान्छे ! तिम्रो भाषामा
जब जब भूँइ फुट्टा हुन्छ
तब तब तिम्रो सिंहासन कम्पित पाउँछु।
भूँइ मान्छे !
तिम्रो हाजिरी बजाउने हतारोमा
तिमीलाई तिम्रो
दैनिकी सुरु गर्ने हतारोमा
इतिहासको छातीमा टाङ्गिएकाे
भित्ते घडी र यसका काँटामा उनिएका
अपराधी तिम्रा अनुहारहरु पढ्छु।
तिम्राे तरबारदेखि दरबारसम्म
भाेटाेदेखि सरुवालसम्म
भूँइ मान्छेकाे छाँया र माया
पाेतिएकाे हाेइन र ?
यात्राहरु कति प्रायाेजन भए कति
आदिम गुफादेखि हरेक सभ्यतामा तिमीले
उसको रहरमाथि टेकेर
उसका मखमली सपनालाई कुल्चेकाे हाेइनाै र?
भूँइ मान्छेकाे काँधमा सवार अाेइ यात्री !
भेटियाे जमिन बञ्जर कतै
भूँइ मान्छे नउम्रिएकाे !
तुफानी इतिहासहरुले
हरेक पटक
भेट्याै र उसलाई नबढारेकाे ?
भेट्याै र यस्तो शताब्दी
उसलाई महामारीले नखाई उभारेकाे !
रचिन्छन् युध्दहरु
आँउछन् भूँइचालाे र सुनामीहरु
र भूँइ मान्छेले आफ्नो छात्तीमा उमारेका
ती जंगली फूलहरु साेतर हुन्छ ।।
लाग्छ हरेकआपद हरेक विपदले
भूँइ मान्छेकाे अमिलो मासु मनपराउँछ
मात्र उसको नुनिलो आँशु मन पराउँछ।
नभए लकडाउनमा
आँफ्नो घरभित्र लुकेर
कालाे चश्मा लगाउनेहरुले
ताताेताताे बिर्यानी खाएकाे बेला
भाेकाे नाङ्गो भूँइ मान्छे
राजमार्गमा पुलिसको चिसो लाट्ठी किन खान्छ ?
भूँइ मान्छे आजभाेलि
याे निषेधाज्ञा लत्याएर
सडकमा किन निस्कन्छ ?
इतिहासका पानाहरु रक्ताम्य रङ्ग्याउँदै
भूँइ मान्छे फेरि एकपटक
भूँइफुट्टा बाैरिदैछ
सावधान ! ओइ इतिहास छाप्नेहरु हाे!
कैफियत तिम्राे धेरै भयाे अब
तिम्रो सिँहासन हल्लिने भएकाे छ।
(नयाँ दिल्ली भारत, २०२०;मे २१)
( समर्पण महामित्र छिमेकी देश भारतका विशेष भूँइ मान्छेहरुमा।)