२०७८ साउन १९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ हप्ता अगाडि

मैले जे देखे त्यहि लेखेँ

 

विष्णुप्रसाद पोखरेल

दमक/ दमक नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, प्रदेश सरकार र संघीय सरकारले एकै स्वरमा भनिरहेको छ कोरोनाको जोखिमबाट बच्नका लागि सामाजिक दुरी कायम गरौ । स्वास्थ्य मापदण्ड पालना गरौ । निषेधाज्ञा जारी गरेर मापदण्ड पालना नगरेर कार्वाही गर्ने सम्म भनिएको छ । तर दमकमा न निषेधाज्ञा पालना भएको छ न त पालना गराउन प्रयत्न नै भएको छ । लापरवाहीप्रति वेवास्था कारण संकट उत्पन्न हुने खतरा बढेको छ ।

दमकको एक सरकारी अस्पतालको बेहाल देख्दा लाग्छ दमकमा कोरोना संक्रमण बढ्नुको कारण अन्यत्र खोजिरहनु पर्दैन । बुधबार विहान ११ बजे दमक अस्पताल परिसर पुग्दा खुट्टा राख्ने ठाँउ थिएन । त्यहि अस्पतालमा गरिएको एन्टिजेन परिक्षणमा झण्डै ५० प्रतिशतमा कोरोना पोजेटिभ भेटिएको थियो । बुधबार नै दमकमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भयो । तर अस्पतालमा कुनै आमसभाको भिड भन्दा कम थिएन । वालबालिकादेखि जेष्ठ नागरिकको बेहाल देख्दा आँशु थाप्न नसक्ने अवस्था देखेँ ।

भिडियो खिचिरहदा एक स्वरमा यहाँ आएका विरामीहरु भनिरहेका थिए-न हामीले रेफर पाउछौ न त हाम्रो सहज पालो आउछ, हामी कोरोना संक्रमण भएर मर्ने भयौ । बिमा बोर्ड र स्थानीय सरकारको चासो नगएका कारण यो अवस्था आएको उनिहरु बताईरहेका थिए । केहिदिन अघिसम्म त दमकका बिमाको उपचारका लागि दोश्रो बिन्दु तोकिएका अस्पतालहरुमा सहज उपचार पाइरहेपनि अहिले त्यो बन्द भएपछि विरामीहरुलाई धेरै सास्ति भएको देखिन्छ ।

कमसेकम दमकमा कोरोना संक्रमण रोक्नका लागि यो कोरोना संक्रमणको भयाभह अवस्थामा सहज रेफर वा बिमा बोर्डलाई अनुरोध गरेर यहिका ठुला अस्पताल (आम्दा र लाईफलाइन)मा उपचारको लागि ब्यवस्था मिलाईने हो भने पनि कोरोना संक्रमण रोकथाममा सहयोग पुग्न सक्थ्यो । नीजि अस्पतालहरुले मनोमानि गरेका कारण दमक अस्पतालमा मात्र उपचार भइरहेको जनाइन्छ यस्तो हो भने प्रभावकारी अनुगमन गरिनुपर्छ तर विरामीको स्वास्थ्यमाथि खेलवाड त गर्न पाइदैन ।

दमक अस्पतालमा भेटिएकी एक विरामीको पीडाले झनै भावुक बनायो । उनि पहिलो दिन अस्पतालमा आएर बिल लिइन् । त्यो दिन दिनभर बस्दा पनि पालो आएन । भोलिपल्ट पालो आयो र रगत लगायत चिकित्सकले भनेको जाँच गराइन तर रिर्पोट देखाउन सकिनन् । पर्सिपल्ट रिर्पोट देखाउन आएकी उनि एकसय विरामीको भन्दा पछाडि लाइनमा उभिरहेकी थिईन । विरामी निको हुनका लागि आएको झन् विरामी थपिएर मरिन्छ भन्ने पो लाग्न थाल्यो, भिडले असिनपसिन देखिएकी उनले भनिन् ।

उखुम गर्मिमा जेष्ठ नागरिकहरु पालो पर्खेर बसिरहेका देखिन्थे । उनका आफन्त जसले जेष्ठ नागरिकलाई अस्पतालामा ल्याएका थिए उनिहरु छिटो देखाउनका लागि पहल गरिदिन कहिले पाले त कहिले त्यहाँ देखिएका अस्पतालका सञ्चालक तथा कर्मचारीसंग अपिल गरिरहेका थिए । कस्तो विडम्बना सहज उपचारका लागि अनुनय बिनय गरिरहनु पर्ने । यो कोरोनाको महामारीमा यो त चरम लापरवाही हो भन्ने नै मेरो मनले भनिरहेको थियो ।

दमक, कमल, शिवसताक्षी, गौरीगन्ज लगायत माईवारी क्षेत्रका सम्पूर्ण विरामीहरु आउने भएकाले यो भिड भएको बताइन्छ । यसभन्दा अघि दमकको अधिकाँश अस्पतालमा सहज रुपमा नै स्वास्थ्य बिमा गरेका विरामीहरुले उपचार पाउदै आएका थिए । जसका कारण यो अवस्था आएको थिएन । कतिपयले अस्पतालका चिकित्सक तथा अस्पताल प्रशासनका कारण यो अवस्था आएको पनि भनिरहेका थिए । सकेसम्म यहिका अस्पतालमा रेफर नदिने, विमाका विरामी हेरे बापत निश्चित प्रतिशत (प्रोत्साहन स्वरुप) रकम आउने कारणले यो अवस्था आएको त होइन ?

अस्पतालको यो भिड र बेहालपन स्वास्थ्य बिमाप्रति पनि बितृष्ठा हुने अवस्था सिर्जन हुने देखिदैछ । विरामीहरुले यो सास्ति पाएपछि अब विमा नविकरण किन गर्ने ? भनेर पनि प्रश्न गरिरहेका थिए । करिब आधा घण्टा त्यहाँ रहदा उकुशमुकुश भएर निसासिए झै म आफैलाई पनि भएका थिए । अनि दिनभर बस्नेहरुमा कस्तो पीडा होला ? यहाँ कार्यरत चिकित्सक तथा कर्मचारीहरुको पनि त पक्कै मन खुशि भएको नहुनु पर्ने हो । उनिहरुमा पनि पक्कै पीडा होला । यसर्थ यो अवस्थाको अन्त्य तत्काल हुनुपर्छ ।