२०७८ साउन १९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

मैले जे देखे त्यहिँ लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ लायन्सकर्मी दिवस राईले आज कमल गाँउपालिकामा रहेको एउटा सरकारी विद्यालयमा केहि सहयोगका लागि हेर्न जानु पर्ने भयो जाने होइन ? भनेपछि मलाई पनि जान मन लाग्यो । लायन्स लिडरहरु ज्ञानु पौड्याल, काँशि खाती, तुलसि तिम्सिना, श्याम तिम्सिना सहित हामी त्यहाँ पुग्यौ । झट्टा बाहिरबाट हेर्दा त खासै केहि महसुस नहुने तर त्यहाँ भित्रपछि भने निक्कै सोचमग्न बनायो ।

दमकबाट करिब ३ किलोमिटर सितापुरी र त्यहाँ त्यहाँबाट दक्षिण आधा किलोमिटरपनि अपुग दुरीमा रहेको एउटा सरकारी विद्यालय सिद्धदेवी प्राथमिक विद्यालय कमल गाँउपालिका ५ को हविगत देख्दा लाग्यो यो त सरकारको नै बेईज्वती हो । बस्तुभाउ बाध्ने गोठ तथा बाख्राको खोर यो भन्दा अलि ब्यवस्थित होला तर सरकारी विद्यालयको अवस्था यो भन्दा कमजोर देखिनु यो भन्दा दुखद के हुनसक्छ ? यस्तोमा हाम्रो वालबालिकाहरुले कसरी राम्रो शिक्षा लिनसक्छन् ? यहाँ आएर विद्यार्थीहरुले कसरी पढ्लान ?

नारामा भनिने गाँउको स्थानीय सरकार, सहज पहुँचको मानिने प्रदेश सरकार र संघीय सरकारको समेत लगानी रहेको सरकारी विद्यालयको नाजुकपन जो सुकैलाई पत्याउन पनि मुश्किल छ । हरेक क्षेत्रले पहुँच भएको अझ भन्नु पर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रको यो विद्यालयको हालत देख्दा जो कोहिको पनि मन खिन्न हुनेछ । भुकम्पले चर्काएको कार्यालय सहितका अन्य भवनहरु, बल्लतल्ल रोइकराई गरेर रातो टिनको छानो भने यसैपटक लगाईएको रहेछ । झ्याल ढोकाको हविगत, भित्र डेक्स बेन्चको त कुरा छाडौ ।  फेन बेगरको टिनको छानो ।

विद्यालय प्रशासनको भवन पनि उस्तै थियो । चर्केको भवन । हामीलाई त्यहाँ एकघण्टा बिताउन निक्कै सकस पर्यो । चिटचिट पसिना झर्र्यो । फेन रहेको कोठाको त यो अवस्था थियो भने अझ वालबालिका पढ्ने कक्षा कोठामा अवस्था के होला ? कुनै समय १ सय ५० भन्दा बढि बिद्यार्थी रहेको विद्यालयमा ३० देखि ३५ जना विद्यार्थीमा झरेको रहेछ । तर पनि यसको सुधारतर्फ स्थानीय सरकारको ध्यान नजानु लज्जाश्पद छ ।

वालमैत्री सिकाई र डेक्सबेन्च त यो विद्यालयका लागि परैको बिषय रहेछ । जस्तो भएपनि पुग्ने गरी डेक्सबेन्चको पनि अभाव रहेछ । अहिले स्थानीयहरुले अभियान चलाएर झण्डै विद्यार्थी संख्या ३५ बाट बढाएर १ सय ५० नघाएका रहेछन् तर उनिहरुलाई ल्याएर कहाँ पढाउने ? कसरी ब्यवस्थापन गर्ने चुनौती रहेछ । नीजि विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गर्नका लागि तयार पारेका छौ तर यहाँ कसरी ल्याएर ब्यवस्थापन गर्ने भन्ने चिन्ता छ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नर्वदा उप्रेती (गौतम)ले भनिन् ।

६ वटा कक्षा कोठा जुन बाख्राको खोर भन्न पनि लायक छैन । यस्तो कक्षा कोठामा नीजि विद्यालयका विद्यार्थीहरुलाई ल्याएर पढाउने कल्पना स्थानीयले गरेका रहेछन् । यो एउटा ठुलो सपना स्थानीयले बुनेको देखियो । तर यो विद्यालय चलाउने सरकार कहाँ छ ? शिक्षालाई पहिलो प्राथमिकता भन्ने गाँउको स्थानीय सरकार के हेर्छ ? आफु मातहत अर्थात सरकार मातहत रहेको यो विद्यालयको हविगतले मन छुन्छ की छुदैन ? जनप्रतिनिधिहरुलाई मेरो प्रश्न छ ? गएर एक पटक विद्यालय हेर्दिनुहोस र आफ्ना छोराछोरी तथा नातिनातीना यहाँ पढ्न पढाउन सक्नुहुन्छ या सक्नुहुन्न मलाई बताइदिनुहोस ।

विद्यालयकी प्रधानअध्यापक कौशिला पौडेलको एउटा कुराले मेरो मन छोयो । यस बिषयमा र विद्यालयको हविगत बताउदा गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले हाँसेर यस्तो पनि हुन्छ ? भनेर उल्टै गिज्याउने काम भयो । आफ्नो कुरालाई गम्भिरताका साथ नलिईएको उनले सुनाइन् । उनले अब यो विद्यालयलाई विद्यालयजस्तो बनाउनका लागि सहयोग गरिदिन र यो कुरा सम्बन्धित ठाँउमा पुर्यादिन पनि उनको अनुरोध रहेको थियो ।

पत्रकारका साथै लायन्स क्लव अफ झापा दमकको प्रतिनिधिको रुपमा त्यहाँ गएर यो अवस्था देखिरहदा मलाई लाग्यो यस विद्यालयको यो अवस्थाबारे किन अहिलेसम्म बाहिर आउन सकेन ? केहि दिन अघिसम्मको प्रधानमन्त्रीको निर्वाचन क्षेत्र । जिल्लाको सुगम क्षेत्रमा पर्ने विद्यालयको यो अवस्था कसरी आयो ? सोच्न बाध्य बनाएको छ । पक्कै सम्बन्धित ठाँउसम्म विद्यालयको अवस्था जस्ताको त्यस्तै पुगेको भए यहि अवस्था रहन्थ्यो होला र ? अहिले सम्म यो अवस्थामा चल्यो तर अव विद्यालय शुरु हुँदा यो अवस्था रहनु हुन्न । यसमा सबैको ध्यान जाओस ।

विद्यालयको अवस्था बुझ्दै लायन्सकर्मीहरु