हेलो दमक सरकार ! धुलाम्मे सडकमा कमसेकम पानी त छिट वा छिट्न लगाउ

मैले जे देखेँ त्यही लेखे
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा घर–घरका सेफ्टीट्याङ्कीबाट निस्कने पानीजन्य फोहोर ढल प्रशोधन गरेर विद्युत तथा मल उत्पादन गर्ने योजना अन्र्तगत भन्दै अहिले दमकका अधिकाँश सडकहरु भत्काईएको छ । पाईप राख्नका लागि सडकलाई जथाभावी भत्काईएको छ तर चाँडो बनाउनका लागि भने प्रयत्न देखिन्न । यसले गर्दा अहिले दमकका सडकहरु अस्तब्यस्त रहेको छ ।
सडक भत्काएपछि बनाउने जिम्मेवारी जस्ले भत्काएको हो उसैको हो । बनाउने जिम्मेवारी पनि नलिएको भने छैन तर बिडम्बना ढिलासुस्तिले गर्दा अहिले दमकबासीले धेरै सास्ति खेप्नु परेको छ । दमकको चमक गुमेको छ । कुनै समय दमकको मुख्य पहिचान र सुन्दरता नै दमकका फराकिला सडकहरु रहेका थिए । सडक ब्यवस्थापन दमकको नमुना रहेको थियो।
जथाभावी भत्काईएका सडकहरुले दमकलाई गिज्याइरहेको छ । सडकमा निस्कन सक्ने अवस्था छैन । सडकको धुलोले गर्दा मानिसहरुले लगाएका कपडाहरु, सवारी साधनहरुको बेहाल देखिन्छ । सडक आसपासका पसलहरुका सामाग्रिहरु धुलाम्मे भेटिन्छन् । अति ब्यस्त थानारोड आसपासका अधिकाँश सडकहरुमा धुलोको आंतक छ ।
कमसेकम दैनिक २ देखि ३ पटकसम्म पानी छिट्ने ब्यवस्था मिलाउने हो भने पनि कति ठुलो राहत मिल्थ्यो होला ? सवैभन्दा पुण्य र प्रभावकारी काम नै यहि हुन्थ्यो जसरी त्यस क्षेत्रका ब्यापारी तथा दैनिक ओहोरदोहोर गर्नेले बताइरहेकाछन् । दमकको सडक हिड्दा २ जोर कपडा बोक्नु पर्ने अवस्था नआओस । एउटा सडक हिडुन्जेल धुलो लाग्ने कपडा र अर्को सडक पार भएपछि लगाउने कपडा ।
स्थानीय सरकारको योजना अनुसार काम भएको होइन । सडक भत्काईएको होइन तर त्यहाँ काम जस्ले गरिरहेको भएपनि सडकको अवस्थामा सुधार ल्याउन त नगरपालिकाले निर्देशन दिन सक्ला । केहि गर्न नसकेपनि कि निर्माण ब्यवसायीलाई पानी छिट्न लगाउने की त आफै नगरपालिकाले छिट्न त सक्छ होला नी ? कति ठुलो राहत हुन्थ्यो । धुलोको कारणले गर्दा एक त विरामी पर्ने र अर्को दुर्घटना हुने जोखिम पनि उति नै छ ।
दमक नगरपालिका अन्तर्गत १, २, ३, ५, ६, ७ र ८ वडामा ढलको पाइप विस्तार गर्ने काम गरिरहदा त्यहाँ भईरहेको कामको अनुगमन वा रेखदेखि सरोकारवाला निकायहरुबाट त्यति धेरै भएको पाइन्न । विकासको नाममा भोली यसले विनाश ल्याउन सक्छ । २०७७ आसोज २६ गते सुरु भइ आगामी २०७९ चैत २५ गतेसम्ममा काम सक्नु पर्ने सम्झौतामा उल्लेख छ ।
कुल ३८ किलोमिटर सडक किनारमा ढल विस्तार भइरहदा नगरबासिले भोगिरहेको पीडालाई कम गर्नका लागि निर्माण कम्पनी जिम्मेवारी बन्नुपर्छ । सडक भत्काएपछि तत्काल बनाउनु पर्छ र बनाउन सकिएन भने हिडडुलमा समस्या ल्याउनु हुन्न । हिडडुलमा समस्या निम्त्याउने किसिमले अलपत्र सडक छाँडिदा यसले आक्रोश बढाउछ ।
ढल निर्माणको क्रममा भत्केका सडकहरु बनाउने जिम्मा पनि ढल निर्माण गर्ने कम्पनीको नै रहेकाले सडकहरु बनाउने काम उसैले शुरुवात गरेको बताईन्छ । यसर्थ स्वामिनारायण निर्माण सेवा विराटनगरको यसमा ध्यान जाओस कमसेकम धुलोमुक्त दशै होस । चाडपर्वमा दूइवटा लुगा बोकेर टिका लगाउन हिड्नु नपरोस ।