२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखे त्यहि लेखेँ

दमक/अहिले झापाको बिर्तामोडमा झापा गोल्डकप हुँदैछ । त्यहाँको माहोल फुटवलमय रहेको छ । खेलकुदकर्मीमात्र नभए, सामाजिक कार्यकर्ता, राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि लिएर सिंगो बिर्तामोडले नै यसलाई सफल बनाउन लागेको छ । किनकी यसले बिर्तामोडलाई एकपटक उचालेको छ ।

खेलकुदले विभिन्न पृष्ठभूमिका मानिसलाई एकै ठाउँमा ल्याएर साझा उद्देश्य र पहिचानको भावना सिर्जना गरेर सामाजिक सम्बन्धलाई बलियो बनाउँछ । मानिसलार्ई नियमित रूपमा व्यापाम गर्न प्रोत्साहित गर्ने कार्यले स्ट्रोक, क्यान्सर र डिप्रेसनका घटना कम गर्न सहयोग गर्छ । जसले उत्पादकत्वमा वृद्धि गर्नुका साथै स्वास्थ्य हेरचाहका लागि कम खर्च हुन्छ । यस्तो बिषयलाई प्राथमिकतामा नराख्नु दुर्भाग्य हो ।

नगरपालिका आफैले नगर खेलकुद विकास समितिको आयोजनामा दमक गोल्ड कपको आयोजना गर्यो तर निरन्तरता दिन सकेन । किन ? दमक गोल्ड कप दमक सरकारको प्राथमिकतामा किन पर्न सकेन ? दमक नगर खेलकुद विकास समिति त बन्यो त्यसलाई चलयमान किन बनाईएन ? कि नगरपालिका खेलकुदप्रति त्यति सकारत्मक छैन ? जवाफ खोज्ने बेला भएको छ । दमक गोल्ड कप रोकिएको २ बर्ष भइसकेको छ । अहिलेसम्म यसलाई निरन्तरता दिने प्रयास भएको पाइन्न । यसलाई निरन्तरता दिन किन चासो दिईएको छैन ।

स्थानीय सरकारले यसको दायित्व लिन सक्दैन भने स्वतन्त्र किसिमको दमक गोल्ड कप समिति बनाउन सकिन्छ र बनाउनु पर्दछ । जसरी अहिले बिर्तामोडमा झापा गोल्ड कप सञ्चालित रहेको छ । यसमा स्थानीय सरकार लगायतका सबैको साथ र सहयोग रहनु पर्दछ । जसका कारण राजनीतिक दाउपेचमा गोल्ड कप पर्दैन । श्रोत जुटाउन त्यहि समिति लाग्छ । यसर्थ यस बिषयमा खेलप्रेमीहरुले जनदबाब सिर्जना गर्नु पर्दछ ।

खेलकुदमा पनि राजनीतिक हाभी भएर दमक गोल्डकप नभएको हो की ? दमक गोल्ड कपलाई निरन्तरता दिइनुपर्छ । दमकको एउटा पहिचानको रुपमा अघि बढाइनु पर्दछ । यसमा स्थानीय सरकारदेखि लिएर सामाजिक संघसंस्थाहरु सबै एक भएर लाग्नु जरुरी रहेको छ । यस बिशेष गरेर दमक खेलकुल विकास समितिले यस बिषयमलाई गम्भिरताका साथ लिनुपर्दछ । दमक गोल्ड कपले कम्तिमा दमकलाई बर्षमा एकपटक फुटवलमय बनाउन सहयोग पुर्याउछ ।

फुटवल यसै पनि सबैको लोकप्रीय खेल भएकाले यसमा एकपटक सबैको चासो जान्छ । २०७५ को लागि अखिल नेपाल फुटबल सङ्घद्वारा दमक गोल्डकपलाई मान्यता दिएको थियो । आफ्नो ४ औ नम्बरमा समावेश गरेको थियो । यति महत्व दिएको प्रतियोगिता रोकिनु र निरन्तरता नदिइनु दमकको लागि दुर्भाग्य नै मान्नुपर्छ । दमक–३ स्थित प्रस्तावित मदन भडारी अन्तर्राष्ट्रिय रंगशालामा २०७८ सालमा अन्तिम दमक गोल्ड कप भएको थियो ।

भौतिक बिकास, तालिम गोष्ठि र सेमिनार प्राथमिकतामा पर्दा खेलकुद तथा दमक गोल्ड कप प्राथमिकतामा नपर्नु दुखद हो । यस बिषयमा दमक नगर खेलकुद विकास समिति र स्थानीय सरकार लगायत सरोकारवाला निकायहरुको ध्यान जाओस् । अन्यत्र गोल्ड कपहरुले निरन्तरता पाउदा दमकले नपाउनु राम्रो होइन ।