२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ महिना अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखेँ त्यहि लेखे

दमक/ नेकपा (माओबादी केन्द्र) ले दमकमा एकलाख फलफुलका विरुवा रोप्ने योजना अन्र्तगत विरुवाहरु रोपिरहेको छ । राजनीतिक दलहरुले गर्ने राजनीतिक कार्यक्रमभन्दा पृथक भएर माओबादी केन्द्रले पुर्वमा संगठन विस्तार र सुदृढिकरण कार्यक्रमसंग जोडिएर दमकमा मात्र १ लाख विरुवा रोप्ने जुन योजना बनायो र त्यस अनुसार काम गरिरहेको छ यो राजनीतिक दलको एउटा नविनतम सोच हो । यसभन्दा अघि पनि बिभिन्न राजनीतिक दल र सामाजिक संघसंस्थाहरुले पनि बृक्षारोपण नगरेका भने होइनन् तर त्यस्ता बृक्षारोपण औपचारिकतामा सिमित थिए र केही विरुवा रोपेर फेसबुमा फोटो पोस्ट्याउने काम हुन्थ्यो । तर माओबादी केन्द्रले यो पटक दमकमा लिचि, कागती, अम्बक, जामुन लगायतका १ लाख फलफुलका विरुवा रोप्ने अभियान चलाएर एउटा सकारत्मक सन्देश दिएको छ ।

विरुवा रोप्नुमात्र ठुला कुरा होइन यसको संरक्षण गर्नु चुनौती हो । हरेक घरधुरी र सार्वजनिक महत्वका कार्यालय तथा स्थानहरु छनोट गरेर विरुवा रोपेको देखिन्छ । यसले गर्दा संरक्षणका लागि त्यति ठुलो समस्या नहोला । जसरी विरुवा रोप्न उत्साह छ त्यसरी यसको संरक्षणका लागि पनि लाग्नु आवश्यक छ । विरुवा रोप्ने तर त्यसको संरक्षण नगर्ने हो भने सस्तो लोकप्रीयता हो की भन्ने देखिन्छ तसर्थ यि विरुवाहरु संरक्षणका लागि पनि कसरत गर्नु पर्ने देखिन्छ ।

आम नागरिकले उत्साहित भएर विरुवाहरु आफै लगेर रोपिरहेकाछन् । निशुल्क रुपमा उपलब्ध गराएपछि आफुले चाहेको विरुवा लगेर रोपिरहेका कारण यो प्रभावकारी बन्ने र संरक्षण हुनेछ । दमकमा एकलाख विरुवा रोपिदा ७५ प्रतिशत विरुवा जोगिएभने पनि यो एउटा ठुलो उपलब्धि हुनेछ । वातवरण संरक्षण र फलफुलको परनिर्भरता कम हुनेछ ।

केही बर्षअघिको तथ्याङ्क अनुसार नेपालको कुल भूभागको ४०.३६ प्रतिशत वन क्षेत्र र ४.३८ प्रतिशत भूभाग अन्य काष्ठ तथा बुट्यान क्षेत्र गरी कुल ६६ लाख हेक्टर वन र बुट्यान क्षेत्रले ढाकेको छ भने बाँकी भु-भाग कृषि, बसोबास क्षेत्र र नदी क्षेत्रले ढाकेको छ ।  पछिल्लो समयमा वन बिनाशका कारणले गर्दा बातवरणमा नराम्रो असर परेको छ । त्यस्तो असरलाई कम गर्न पनि यसले केही न केही भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।

सरकारी र गैर सरकारी क्षेत्रका कार्यालयका खाली ठाउँ, विद्यालय र क्याम्पसका खाली चौरहरू, निजी जग्गाहरू, सडक किनारा, नदी र खोला किनारा, सार्वजनिक जग्गा, वन क्षेत्र, झाडी बुट्यान क्षेत्र आदिमा आम नागरिक, निजी क्षेत्र, नागरिक समाज, राजनीतिक पार्टी, सरकारी क्षेत्र सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी वृहत् रूपमा बहु उपयोगी फलफुल, काष्ठजन्य, गैर काष्ठजन्य बिरुवाहरू वृक्षारोपण दिवसका दिनदेखि रोपण गर्दै उक्त रोपेका बिरुवाहरूको उचित हेरचाह र संरक्षण गरी सो रुखहरूबाट सतत रूपमा उत्पादन लिँदै देशलाई चाहिने आवश्यक बस्तुहरूको परिपूर्ति गरी व्यापार घाटा कम गर्दै राष्ट्रको समृद्धिमा योगदान गर्न वृक्षारोपण कार्यले मद्दत गर्न सक्छ ।

वृक्षारोपणको महत्त्व धेरै नै रहेको छ । मानिसलाई श्वास फेर्न प्रतिदिन १७।५ के.जी.अक्सिजनको आवश्यकता पर्छ जुन ७ वटा रुखहरूले प्रति रुख २.५ के.जी. अक्सिजन दिएर पुर्ति गरिदिन्छन् । वृक्षारोपणबाट औद्योगिक कच्चा पदार्थको आपूर्ति भई औद्योगिकरण मार्फत रोजगारी सिर्जना गर्न, व्यापार घाटा कम गर्न र राजश्व प्राप्त गरी समृद्धि हासिल गर्न मद्दत पुग्छ । जस्तै : चिनले बाँस वृक्षारोपणबाट कागज उत्पादन गरेर र भारतले लहरे पिपल वृक्षारोपण मार्फत कागज उत्पादन गरी विदेशी मुद्रा आर्जन गरेको छ ।