२०८२ पुस ९, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ हप्ता अगाडि

बिष्णुप्रसाद पोखरेल

मैले जे देखेँ त्यहि लेखे

दमक/ दमकको शब्जि बजारमा यसै पनि धेरै बिकृतीहरु रहेकाछन् । मूल्यमा मनपरी देखि लिएर शब्जि बजारमा खासै नगरपालिका बनाएका नियमहरु लागु हुँदैन । त्यहाँ ब्यापारीहरुको एक किसिमले मनपरीतन्त्र जस्तै नै रहेको छ । हिड्न बनाएको ठाँउ समेतमा बजार ढाकिएको हुन्छ । कुहिएको सागशब्जि पनि बिक्री हुन्छ । मूल्य पनि पसल अनुसार फरकफरक हुन्छ । यहाँ कहि कतै मूल्य सूचि टाँस गरेको पनि पाईन्न । यद्यपी नगरपालिकाले यि शर्तहरु अनिवार्य भनेको छ । बिधिसम्मत ब्यवसाय हुनुपर्छ भनेको छ । त्यो कागजमा छ तर ब्यवहारमा छैन ।

अहिले उठाउन खोजिएको बिषय यो छैन । सोमबार दमकमा एउटा प्रमाण नै फेला पर्यो, त्यो हो रायोको सागमा अत्याधिक बिषादीको प्रयोग । ९९ प्रतिशतभन्दा माथि बिषादीको प्रयोग भएको पाईएको छ । ३५ प्रतिशतभन्दा कम बिषादी भएको तरकारीमात्र खान सकिन्छ र त्यो भन्दा माथि हानिकारक मानिन्छ । ४५ प्रतिशत माथि बिषादी भेटियो भने त्यो नष्ट गर्नु पर्ने हुन्छ । तर यहाँ त खुलमखुल्ला बिक्री भइरहेको रहेछ ।

ल्याव परिक्षण गर्दा दमक बजारमा बिक्री हुने रायोको सागमा अत्यधिक कार्बामेट र अर्गानो–फस्फेट जस्ता विषालु रसायनको रहेको पत्ता लागेको छ । सोमबार गरिएको रायोको सागको परीक्षणमा कार्बामेट ७८.४९ प्रतिशत र अर्गानो–फस्फेट ९९.२६ प्रतिशतसम्म रहेको फेला परेको हो । यी दुवै रसायन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ । मानव शरीरले सहन सक्ने स्तरभन्दा धेरै बढी भएका कारण यसको सेवन स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउँछ ।

दमक नगरपालिका तथा दमक नगरपालिका प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले एउटा राम्रो काम गरेको भन्नुपर्छ । सागको नमुना लिएर परिक्षण गराए र यो कुरा पत्ता लाग्यो । होइन भने हामी बिष नै खाइरहेका रहेछौ । यस प्रकारको साग प्रतिबन्ध लगाउने पनि उहाँहरुको प्रतिबद्धता छ । प्रतिबद्धता प्रतिबद्धतामा सिमित रहेन भने यो राम्रै कुरा हो । अनुगमन नियमित गर्ने पनि घोषणा भएको छ तर घोषणामात्र भयो भने त्यो राम्रो होइन काम नै भयो भने राम्रो हो ।

कार्बामेट र अर्गानो–फस्फेट कृषि क्षेत्रमा प्रयोग हुने कीटनाशक हुन्। यी रसायनले उत्पादनमा कीरा र अन्य हानिकारक जीवाणु नियन्त्रण गर्न सहयोग पु¥याउँछन्, तर अत्यधिक प्रयोग हुँदा मानिसमा विषाक्त प्रभाव पार्छन् ।। यसको असरबारे खोजीनीति गर्दा पाईएअनुसार स्नायु प्रणालीमा असर पु¥याउने, श्वासप्रश्वासमा अवरोध ल्याउने, टाउको दुखाइ, बान्ता, शरीर सुन्निने, मुटुमा समस्या, दीर्घकालीन रूपमा कलेजो र मृगौलामा क्षति, अन्ततः क्यान्सरसम्मको जोखिम बढाउने सम्भावना हुन्छ ।

दमकको शब्जि बजारबाट नमुना लिएर परिक्षण गरिएको रायोगको साग कहाँबाट कसरी आयो त ? नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार यो साग मोरङको भाउन्नेबाट आएको हो । यो ब्यापारीले दिएको बयानको आधारमा नगरपालिकाले जानकारी गराएको हो । तर वास्तविक हो की होइन खोज्नु जरुरी छ । यसभन्दा अघि भारतबाट आयतित सागशब्जि तथा तरकारीमा अधिक बिषादी हुनेगर्छ भन्ने गरिन्थ्यो । तर हाम्रै घर आँगनका उत्पादन यति धेरै बिषाक्तछन् भने यो झनै गम्भिर बिषय हो ।

यो गम्भिरतालाई बुझ्न जरुरी छ । किसान, व्यापारी र उपभोक्ताबीच समन्वय गर्न तथा सुरक्षित उत्पादन प्रवद्र्धन गर्न स्थानीय सरकारहरु गम्भिर बन्नुपर्छ । अत्यधिक रसायनको प्रयोगले उत्पादन त बढाउन सक्छ तर स्वास्थ्यमा ठूलो जोखिम ल्याउँछ । बिषादी रहित उत्पादनपछि सागलाई धुने, सफा गर्ने र बजारमा ल्याउने प्रक्रिया सुनिश्चित गरिनु आवश्यक छ । उपभोक्तालाई सुरक्षित उत्पादन उपलब्ध गराउन प्रमाणित उत्पादन मात्र बिक्री गर्नु जरुरी छ ।

समग्रमा भन्नुपर्दा दमक बजारमा रायोको सागमा अत्यधिक रसायन पत्ता लाग्नु स्वास्थ्यका लागि गम्भीर चेतावनी हो । यस समस्याको समाधानका लागि नगरपालिका, किसान र ग्राहकको सहकार्य अनिवार्य छ । नगरपालिकाको भूमिका बजार अनुगमन, परीक्षण, प्रतिबन्ध, सचेतना र कानुनी कारबाहीमा केन्द्रित हुनुपर्दछ । साथै किसानको भूमिका पनि जिम्मेवार बन्नैपर्छ । उत्पादनमा जिम्मेवार व्यवहार, रसायनको सन्तुलित प्रयोग, जैविक पद्धति अपनाउने र सुरक्षित तरकारी उपभोक्तामा पुर्याउने गर्नुपर्दछ । उपभोक्ताले पनि सुरक्षित स्रोतबाट साग किन्ने, धोएर वा पकाएर सेवन गर्नु र अत्यधिक प्रयोग नगर्नुमा नै हितकर देखिन्छ ।

किनकी साग स्वास्थ्यका लागि आवश्यक पोषणको स्रोत भए पनि अत्यधिक रसायनयुक्त साग सेवन गर्दा दीर्घकालीन स्वास्थ्य समस्या आउन सक्छ । नगरपालिकाको कडा अनुगमन, किसानको जिम्मेवार व्यवहार र उपभोक्ताको सतर्कता मिलेर मात्र बजार सुरक्षित र स्वास्थ्यप्रद बनाउन सकिन्छ । सरोकारवाला सबै मिलेर दमकको शब्जि बजारमा सुरक्षित र स्वस्थ साग तथा तरकारी सुनिश्चित गर्न सकिन्छ । उपभोक्ताको स्वास्थ्य, किसानको उत्पादन र बजारको विश्वास सबै सुरक्षित रहने अवस्था ल्याउन पहल गरौ ।