२०८२ माघ १३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

बिष्णुप्रसाद पोखरेल

मैले जे देखे त्यहि लेखेँ

दमक/ पुष १८ गते हुने दमक उद्योग बाणिज्य संघको निर्वाचन सामान्य पदपूर्तिको प्रक्रिया मात्र होइन, दमकको आर्थिक भविष्य र व्यवसायिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसर हो। पछिल्ला वर्षहरूमा दमक नगर व्यापार, सेवा र उद्योगको सम्भावनायुक्त केन्द्रका रूपमा विकसित हुँदै आएको छ। तर सम्भावना र उपलब्धिको दूरी अझै घट्न बाँकी छ। यही सन्दर्भमा यो निर्वाचनले कस्तो नेतृत्व आवश्यक छ ? भन्ने प्रश्नलाई गम्भीरतापूर्वक उठाएको छ।

व्यवसायीक मुद्धाको वास्तविक पहिचान

दमकका व्यवसायी आज अनेकौं चुनौतीको सामना गरिरहेका छन्। कर प्रणालीको जटिलता, अनुगमनको नाममा हुने अनावश्यक दबाब, बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाउन कठिनाइ, बढ्दो सञ्चालन खर्च, श्रम व्यवस्थापनको समस्या र सीमापार व्यापारको असरजस्ता विषय व्यवसायीका साझा पीडा हुन्। उद्योग बाणिज्य संघको नेतृत्वले यी समस्या कागजमा मात्र होइन, नीति तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन सक्नुपर्छ। संघ केवल कार्यक्रम आयोजना गर्ने संस्था नभई, व्यवसायीका अधिकार र हितका लागि आवाज उठाउने सशक्त मञ्च हुनुपर्छ।

साना, मझौला र घरेलु उद्योगको संरक्षण

दमकको अर्थतन्त्रको मेरुदण्ड साना र मझौला व्यवसाय हुन्। किराना, होटल, सेवा उद्योग, कृषि तथा घरेलु उत्पादनमा संलग्न हजारौं व्यवसायीले स्थानीय रोजगारी सिर्जना गरेका छन्। तर नीतिगत संरक्षण र प्राविधिक सहयोगको अभावमा धेरै व्यवसाय टिक्न नसक्ने अवस्थामा छन्। अबको नेतृत्वले ठूला लगानीकर्तामात्र होइन, सानो पूँजीमा संघर्ष गरिरहेका व्यवसायीको हितलाई पनि केन्द्रमा राख्नुपर्छ। तालिम, प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा र बजार पहुँच विस्तारजस्ता कार्यक्रम संघको प्राथमिक एजेन्डा बन्नुपर्छ।

दमकको पहिचान निर्माण

दमकलाई केवल आवासीय शहर वा बजारको रूपमा सीमित राख्ने समय सकिएको छ। यसको भौगोलिक अवस्थिति, पूर्व–पश्चिम राजमार्ग, औद्योगिक सम्भावना र जनशक्तिलाई सदुपयोग गर्दै दमकलाई पूर्वी नेपालको व्यापारिक र औद्योगिक हब बनाउने दुरदृष्टि आवश्यक छ। स्थानीय उत्पादन—कृषि, खाद्य, हस्तकला वा सेवा—लाई दमकको पहिचानसँग जोडेर ब्रान्डिङ गर्न सकिने ठूलो सम्भावना छ। यसका लागि संघको नेतृत्वले नगरपालिकासँग सहकार्य गर्दै दीर्घकालीन आर्थिक योजना तयार गर्नुपर्छ।

पारदर्शी र जवाफदेही नेतृत्व

संघप्रति व्यवसायीको विश्वास तब मात्र बलियो हुन्छ, जब नेतृत्व पारदर्शी र जवाफदेही हुन्छ। चन्दा, सहयोग र सदस्यता शुल्क कहाँ र कसरी खर्च भयो भन्ने विषय स्पष्ट हुनुपर्छ। निर्णय प्रक्रिया समावेशी हुनुपर्छ र व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई माथि राख्ने संस्कार विकास गर्नुपर्छ। निर्वाचनपछि जित–हारभन्दा माथि उठेर सबै व्यवसायीलाई एकताबद्ध गर्न सक्ने क्षमता नेतृत्वमा हुनुपर्छ।

राजनीति भन्दा माथि उठेको संघ

बिगतमा दमक उद्योग बाणिज्य संघले व्यवसायीक हित कोष स्थापना गरेर संघलाई नयाँ आयाम दिएको उदाहरण हामीसँग छ। त्यो पहलले आपत्, संकट र असहज परिस्थितिमा व्यवसायीलाई राहत पुग्ने स्पष्ट प्रमाणित गर्‍यो। यसले देखायो—दुरदर्शी नेतृत्व भए भविष्यका व्यवसायी पनि सुरक्षित हुन्छन्

त्यस बेला भावना होइन, आवश्यकता बुझेर निर्णय गरिएको थियो। कोषले संघलाई केवल प्रतिनिधिमूलक संस्था नभई व्यवसायीको भरोसाको आधार बनायो। आज पनि यही सोच आवश्यक छ—तत्काल लोकप्रियताभन्दा दीर्घकालीन लाभलाई प्राथमिकता दिने नेतृत्व। नयाँ पुस्ताका व्यवसायीलाई सुरक्षा, सहुलियत र अवसर दिने योजना अघि सार्न सक्ने दुरदर्शिता नै सक्षम नेतृत्वको पहिचान हो।

उद्योग बाणिज्य संघको चरित्र राजनीतिक भन्दा व्यवसायिक हुनुपर्छ। राजनीतिक दलको छायाँ वा दबाबमा होइन, व्यवसायीको साझा हितमा निर्णय लिन सक्ने स्वतन्त्र नेतृत्व आजको आवश्यकता हो। राजनीति र व्यवसायको स्पष्ट सीमा कायम राख्न नसक्दा संघ कमजोर बन्छ र व्यवसायीको आवाज दबिन्छ। पुष १८ को निर्वाचनले यस्तो नेतृत्व छान्नुपर्छ, जसले संघलाई राजनीति होइन, उत्पादन र व्यापारको पक्षमा उभ्याओस्।

दमक उद्योग बाणिज्य संघको निर्वाचनले अनुहार होइन, दृष्टिकोण र प्रतिबद्धता रोज्नुपर्ने समय आएको छ। व्यवसायीक मुद्धालाई केन्द्रमा राख्ने, दमकको पहिचानलाई आर्थिक समृद्धिसँग जोड्ने, साना–मझौला व्यवसायीलाई साथ दिने र पारदर्शी रूपमा नेतृत्व गर्न सक्ने टिमको आवश्यकता छ। यस्तो नेतृत्व चयन भएमा मात्र दमक व्यवसायीको साझा घर बन्नेछ र दमक आर्थिक रूपमा सशक्त, आत्मनिर्भर र पहिचानयुक्त शहरका रूपमा स्थापित हुनेछ।

दमक उद्योग बाणिज्य संघको निर्वाचन नजिकिँदै गर्दा भावनात्मक भाषण, नारा र ब्याक्तिबादी सोच हाबी बन्दै गएको देखिन्छ ।  तर अब दमकका व्यवसायीले भावनामा बग्ने होइन, काम गरेर देखाउने नेतृत्व खोज्नुपर्ने समय आएको छ। व्यवसाय चलाउन भावना हैन, योजना, निर्णय र परिणाम चाहिन्छ।

आज व्यवसायीले भोगिरहेका समस्या स्पष्ट छन्—कर र शुल्कको बोझ, अनुगमनको नाममा दबाब, लगानीको अभाव, बजारको सङ्कुचन र बढ्दो प्रतिस्पर्धा। यी समस्या समाधान गर्न आँसु र भाषणले हैन, संस्थागत वार्ता, नीति तहमा दबाब र व्यवहारिक पहल चाहिन्छ। त्यसका लागि संघको नेतृत्व अनुभव, दक्षता र काम गर्ने संस्कार भएको हुनुपर्छ।

दमकको पहिचान निर्माण पनि भावनात्मक नाराले सम्भव हुँदैन। स्थानीय उत्पादनको ब्रान्डिङ, औद्योगिक क्षेत्रको विस्तार, रोजगारी सिर्जना र लगानीमैत्री वातावरण बनाउन ठोस कार्ययोजना र निरन्तर पहल आवश्यक छ। चुनाव जितेपछि हराउने हैन, व्यवसायीको बीचमै रहेर काम गर्ने नेतृत्व नै आजको आवश्यकता हो। पुष १८ को निर्वाचनले लोकप्रिय हैन, विश्वसनीय र परिणाममुखी नेतृत्व चयन गरोस्—जसले कुरा कम र काम धेरै गरोस्।