२०८३ भदौ २३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १३ घण्टा अगाडि

दमक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा बेपत्ताको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै झापाको दमकमा बृहत् सामूहिक दीप प्रज्वलन गरिएको छ।

वैदिक सनातन धर्म संरक्षण समिति नेपालको संयोजनमा आयोजित दीप प्रज्वलनमा दमकसहित आसपासका क्षेत्रबाट सयौँ नागरिक स्वतःस्फूर्त रूपमा सहभागी भएका थिए। वैदिक सनातन धर्मका अभियन्ता तथा १८ महापुराणका प्रवक्ता पण्डित कुवेर सुवेदीसहित विभिन्न धार्मिक व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

भोटेकोशीमा बाढी आएको १३ दिनसम्म पनि संकटका कारण धेरै परिवारले घरमा दीप प्रज्वलन गर्न नसकेको अवस्थालाई स्मरण गर्दै सामूहिक रूपमा दीप प्रज्वलन गरिएको पण्डित सुवेदीले बताउनुभयो।

कार्यक्रमका आयोजक वैदिक सनातन धर्म संरक्षण समिति नेपालका केन्द्रीय उपाध्यक्ष पण्डित विवेक गुरागाईंले बाढीका कारण मृत्यु भएका, बेपत्ता भएका तथा घाइतेहरूको स्मरणमा सामूहिक प्रार्थना र दीप प्रज्वलन गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईँको समेत सहभागिता थियो। उहाँले मुलुक संकटमा रहेका बेला दीप प्रज्वलन, गीता पाठ तथा सामूहिक प्रार्थनाजस्ता कार्यक्रमले नेपालीलाई एकताबद्ध बनाउन र आपसी आत्मीयता बढाउन सकारात्मक सन्देश दिने बताउनुभयो।

यसअघि समितिले दमक–६ स्थित पशुपति मन्दिरमा गीता पाठ तथा ४० जना गुरुबाट आवृत्ति श्रीमद्भागवत मूल पाठसमेत आयोजना गरेको थियो।

दीप प्रज्वलन कार्यक्रममा शिवसताक्षी नगरपालिकादेखि मोरङको पथरी शनिश्चरे नगरपालिकासम्मका सनातन गुरुहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक प्रार्थना तथा आराधना गर्दै बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

साथै बेपत्ता भएकाहरू चाँडै सकुशल भेटिऊन् र घाइतेहरूले शीघ्र स्वास्थ्यलाभ गरून् भन्ने कामनासहित सामूहिक रूपमा प्रार्थना गरिएको थियो।