समृद्ध दमकका योजनाकार थिए युवराज दाहाल
युवराज दाहाललाइ दमकमा स्मरण गरिदैछ । हेलिकप्टर दूर्घटनामा एक बर्ष अघि निधन भएको दाहालको सम्झना दमकबासीले गरिरहेकाछन् । दमक नगरपालिकामा कार्यकारी अधिकृत रहेका उनि नेपाल सरकारका उपसचिव रहेका थिए । दमकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेको अवस्थामा एक बर्ष अघि हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए । करिब एक दशक बढी विभिन्न जिल्ला र क्षेत्रका स्थानीय निकायमा काम गरिसकेकाले उनीसँग पर्याप्त अनुभव थियो । तल्लो र माथिल्लो दुबै तहको समस्यासँग उनी परिचित थिए । त्यसैले उनलाई नगर कसरी चलाउने भन्ने राम्रो जानकारी थियो ।
अहिले सरकारको समेत प्राथमिकताका योजनामा परेको दमक औद्योगिक पार्कको परिकल्पना उनै दाहालको थियो । सबैभन्दा ठूलो बुद्धको मूर्ती बनाउने योजना पनि उनकै भएको स्थानीय बताउँछन् । दमकमा उनी जति पनि काम गर्थें, हरेकपटक केपी ओलीसँग सल्लाह माग्थे । कहिले विभिन्न व्यक्तिमार्फत फोन गरेर सम्पर्क गर्थें भने कहिले काठमाडौं आएर भेट्थें ।
उनले आफूले हात हालेको योजनालाई अघिल्लो सरकारले निकालेको ०७२ सालको नीति तथा कार्यक्रममा पनि पार्न सफल भए । भ्यू टावर, नमुना बजार जस्ता योजनासहितको परामर्श अघि बर्ढाएका थिए’।
यसरी दमकमा उनको छवि एक कर्मचारीका रुपमा मात्र सीमित थिएन, उनी नेताझैँ थिए । त्यति मात्र होइन, प्रदेश १ मा स्थानीय तहको प्रमुख र उपप्रमुखका र प्रदेशसभाको चुनावमा उनीमार्फत टिकट माग्नेहरुको पनि लहर नै भएको स्थानीय नेता बताउँछन् ।
केपी ओलीको नजरमा परेका उनी दमकमै रहँदा उप–सचिव भए । त्यसपछि ओलीले उनलाई प्रधानमन्त्री कार्यालयमै ल्याए । कार्यालयका एक कर्मचारी भन्छन्, ‘यहाँ रहँदा दाहालजी पदले उप–सचिव हुनुहुन्थ्यो तर, कार्यकक्षमा सचिवहरुको पनि भिड लाग्थ्यो ।’ कार्यक्षमा गएका हरेक व्यक्तिलाई कहिल्यै निराश नबनाउने उनको बानी रहेको ती कर्मचारी बताउँछन् ।


