दमकमा घरहरुमा चल्यो डोजर, सार्वजनिक जग्गा हडप्नेलाइ नछाड्ने उदघोष
विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमक ८ स्थित बसपार्क र पशुहाटसंग टाँसिएको पुर्व पश्चिम राजमार्गको सडक अतिक्रमण गरेर बनाईएका घरहरु नगरपालिकाले भत्काउन थालेको छ । नगरपालिकाले जेसेभि लगाएर सुकुम्बासी लगायतले अतिक्रमण गरेर बनाईएका घरहरु भत्काउन थालेको हो । नगरपालिकाले ५ बर्ष अघिदेखि नै बारम्बार अतिक्रमण हटाउने प्रयषस गर्दै आएपनि सफल हुन सकेको थिएन ।
जिल्ला प्रशासन कार्यालयले सडक अधिकारक्षेत्र भित्रका घरहरु खालि गराउने र यसमा प्रशासनले आवश्यक सुरक्षा ब्यवस्था मिलाउने बताएपछि स्थानीय तहहरुले यसमा चासो दिएकाछन् । दमक नगरपालिकाले गठन गरेको सडक ब्यवस्थापन समितिका संयोजक एवं वडा नं. २ का वडाध्यक्ष प्रजापती सापकोटाका अनुसार बारम्बार आफै घर भत्काउन र सडक खालि गराउनका लागि सूचना गर्दा पनि अटेर गरेपछि बल प्रयोग गरेर हटाउन थालिएको हो ।
अन्यत्र घर भएकाहरु समेत सडकको सार्वजनिक जग्गा आगटेर बसेको र हटाउन अटेर गरेको सापकोटाले बताउनु भयो । घरबार विहिन र वास्तविक सुकुम्बासी भएको भेटिए उनिहरुलाई अन्यत्र नगरपालिकाले ब्यवस्थापन गर्ने योजना रहेको पनि बताईएको छ । सडक क्षेत्रधिकारभित्रको जमिन खालि गराईएको हो, सापकोटाले भन्नुभयो ।
राजमार्गको ८२ फिट भित्र रहेका र सार्वजनिक जग्गामा बनेका घरहरु भत्काईएपछि केहि घर परिवारको बिचल्लि भएको बताइन्छ । नगर प्रमुख रोमनाथ ओलीले सार्वजनिक जग्गा जमिन एवं सडक हडपेर बनाईएका सबै प्रकारका घर तथा संरचना जसरी पनि भत्काईने जनाउनु भयो । नगरपालिकाले घरवार विहिन सुचिकृत गरिएकाहरुलाइ आवास सुविधा उपलब्ध गराउने जनाउदै यस बिषयमा सवैको सहमति रहेको उहाँको भनाई छ ।
हटे सडकमा रहेका सबै काउण्टर
दमकमा सडकको दाँयाबाँया जथाभावी रुपमा राखिएका बस काउण्टरहरु सबै हटाएपछि सडक खाली बनेको छ । सडक छेउमा राखिएका काउण्टरहरुका कारणले यात्रुहरुमाथि दूब्र्यवहार हुने गरेको र दूर्घटनाको समेत जोखिम बढेकाले यातायात ब्यवसायीहरुसंग समन्वय गरेर काउण्टरका लागि बनाईएका सबै घुम्तिहरु हटाईएको दमक सडक ब्यवस्थापन समितिका सदस्य गंगाप्रसाद सिटौलाले बताउनु भयो ।

