२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ पंण्डितहरुले कर छलेको भन्ने बिषयमा आएका समचार प्रति पंण्डितहरुले आफुहरुको ध्यानकर्षण भएको बताएकाछन् । उनिहरुले पंण्डितको कुनै पारिश्रमिक नतोकिएको र परम्परा धान्दै आएकोमा आफुहरुप्रति गलत तवरले आक्रमण भएको भन्दै ध्यानकर्षण भएको बताए । शनिबार झापाको कन्काइधाम कोटिहोममा भएको छलफलपछि वैदिक सनातन धर्म संरक्षण समिति नेपालले बिज्ञप्ति पनि निकालेको छ । यस्तो छ विज्ञप्ति-

पुराण पुरुषोत्तमाय नमः

वैदिक सनातन धर्म संरक्षण समितिको विज्ञप्ति

प्रतिदिन दैनिक राष्ट्रिय पत्रिकामा मिति२०७६ फाल्गुन ३० र चैत्र १ गते प्रकाशित कर छल्दै पण्डितहरु र करको दायरामा पण्डितहरु भन्ने भिन्ना भिन्नै समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । नेपाली सभ्यता संस्कार र परम्परालाई निस्वार्थ सेवा गरेर सभ्य समाज निर्माण गर्न सर्वदा समर्पित कथाव्यासहरुप्रति छल कपटको लान्छना सर्वदा निन्दनीय छ । सामान्य कर्मकाण्ड र पुराणहरुमा दिईने दक्षिणाको महत्व अति पवित्र रहेकाले कति लिने दिने भन्ने कुरालाई शास्त्रले अपवित्र लेनदेन भनेको छ र यस प्रकारका लेनदेन कुनै पनि शर्तमा विद्वान ब्राह्मणहरुले गदैनन पनि । सरल स्वाभावका पण्डितहरुलाई गलत मनसायले फोन गरेर मेरोमा पुराण लगाउनु छ कति लिनुहुन्छ भनि छलकपट गरि फोन गरेर गलत प्रकारले फसाउन खोजेको स्पस्ट हुन्छ । अध्यात्मको विषय आस्थासंग जोडिएका कारण आस्थाका विषयहरु पवित्र हुनुपर्दछ भन्ने कुरामा हाम्रो धारणा स्पस्ट रहेको छ ।पुराणवाचन कुनै पेशा वा व्यवशाय नभएकाले व्यवशायिक पुराणवाचन भन्ने कुरा नै हुदैन । आत्मकल्याण र जीवन जगतको वोध गराउनेमात्र हैन कथावाचन गर्ने पण्डितहरुले राष्ट्रनिर्माणका लागि पनि अति महत्वपूर्ण योगदान पुर्याएका छन यसकारण पण्डितहरुलाई कर छल्ने पात्रकारुपमा हेर्नु उपयुक्त रहने छैन । चैत्र १ गते प्रकाशित समाचारमा भनिए अनुसार पण्डितहरु करको दायरामा आउने भन्ने शिर्षकको समाचार सर्वथा अनधिकृत कुरा रहेको पनि जानकारी गराउदछौं । धर्म निरपेक्षता र प्रेस स्वतन्त्रताका आडमा सनातनधर्म र धर्मप्रचारकहरुमाथि यस्ताखाले नियोजित लान्छना लगाएर समाचार प्रकाशन गर्ने संचार गृह र पत्रकाररुप्रति वैदिक सनातन धर्म संरक्षण समिति नेपाल निन्दा गर्दै आगामी दिनहरुमा यस्तो कार्य नगर्न अनुरोध गर्दछ ।

लक्ष्मी प्रसाद खतिवडा
अध्यक्ष वैदिक सनातन धर्म संरक्षण समिति नेपाल