असाहय र फरक क्षमता भएकाहरुको भरोसा बन्दैछ दमक नगरपालिका
विष्णुप्रसाद पोखरेल
दमक/ स्थानीय सरकारले काम गरेन र जनप्रतिनिधिहरु कमिसनमा लागे भनेर समचारहरु आइरहन्छन् । सकारत्मक भन्दा बढि नकारत्मक समाचारले नै ठाँउ पाएकाछन् । कतिपय अवस्थामा त्यस्तै नै भएको हो की भन्ने पनि देखिन्छ । यो बीचमा दमक नगरपालिकामा भने केहि राम्रा कामहरु भएकाछन् । असाहय र फरक क्षमता भएकाहरुको लागि दमक नगरपालिकामा भएका कामहरु अनकुरणिय रहेकाछन् ।
दमक नगरपालिकामा अटिजम भएका बालबालिकाहरुका लागि सिकाइ केन्द्र शुरु गरिएको छ । यो दमकमा नभएका कारण यहाँका वालबालिकाहरुलाई बाहिर लैजानु पर्ने अवस्था रहेको थियो र त्यस्ता बालबालिका भएका अभिभावकहरु निक्कै समस्यामा रहेका थिए ।
दमकको सरस्वती माध्यमिक बिद्यालयमा प्रदेश सभा सदस्य अर्जुन राईले सिकाइ केन्द्रको उद्घाटन गरिरहदा त्यस्ता समस्यामा रहेका वालबालिकाका अभिभावकहरुले कार्यक्रममा नै अश्रूधारा बगाएका थिए ।
नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारी सहितले मलिन अनुहार लगाए । भावुक बने । प्रमुख ओली र उपप्रमुख अधिकारीले यसलाइ स्थायी संरचना सहित ब्यवस्थित गर्ने प्रतिबद्धता जनाए । यसमा ध्यान दिने उल्लेख गरे ।
अटिजम भएका बालबालिकाहरुका लागि दमकमा यस प्रकारको सिकाइ केन्द्र बन्नु स्थानीय सरकारले यस समस्याको बिषयमा गम्भिर बन्नु भएको अटिजम भएका बालबालिकाहरुको तर्फबाट बोल्दै भोला बरालले बताए । उनि बोलिरहदा उनका आँखाबाट आँशु रोकिएनन् । भक्कानिए ।
यसभन्दा अघि नगरपालिकाले दमकमा आपतमा परेका बालबालिका महिला तथा असाहयका लागि अस्थायी सेफ हाउस सञ्चालनमा ल्याएको छ । दमकमा नै प्रदेश स्तरीय एकीकृत अपांग पुर्नस्थापना केन्द्र बन्दैछ ।

के हो अटिजम ?
– अटिजम भनेको मानिसको दिमागको एउटा विशेष अवस्था हो । यो विकासमा आएको असमानता हो, जसलाई हामी विकासात्मक अपांगता पनि भन्छौं । यसको कारणले गर्दा बच्चालाई कम्युनिकेसन र सोसलाइजेसन गर्न समस्या हुन्छ । दोहोरो संवाद गर्न नसक्ने, आफ्ना कुरा व्यक्त गर्न गाह्रो हुने, उनीहरूले अरुको कुरा बुझेर आफ्नो व्यवहार परिवर्तन गर्न सक्दैनन् । यस्तो सामाजिक र सञ्चारसम्बन्धी समस्या अटिजममा देखापर्छ । यो एउटा आजिवन अपांगता हो ।
विश्व स्वास्थ्य संगठनको तथ्याकंअनुसार विश्वभरका १ प्रतिशत मानिसमा अटिजम छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले विश्वभर जन्मने ५९ जना बच्चामध्ये एक जनालाई अटिजम हुने जनाएको छ। दक्षिण कोरियाको तथ्यांक अनुसार त्यहाँ २ दशमलव ६ प्रतिशतमा अटिजमको समस्या छ। भारतमा ८ करोड र श्रीलंकामा २ लाखमा अटिजम रहेको अनुमान गरिएको छ।

