त्रसित नबनौ सचेत बनौ- आज एकैदिन १४ जनामा कोरोना संक्रमण भएको पुष्टि
काठमाडौँ, ५ बैशाख । उदयपुर र चितवनमा गरी आज एकै दिन १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो संख्या नेपालमा एकै दिन देखिएको सबैभन्दा धेरै हो । यो संगै कुल संक्रमितको संख्या ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरमा १२ जना र चितवनमा २ जना गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
संक्रमित १२ जना त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका थिए । त्यहाँ १६ जना रहेछन् । तीमध्ये कति नेपाल कति भारतीय भन्ने अझै एकीन भएको छैन ।
‘स्थानीयहरुले ४ जना नेपाली र १२ जना भारतीय भएको बताएका छन् । त्यसैले संक्रमित अधिकांश भारतीय भएको बुझिएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
टेकुबाट पोजेटिभ भएको पुष्ट भए लगत्तै उनीहरुलाई अहिले विराटनगर तर्फ ल्याइएको छ । सो एरियालाई सिल गरिएको छ । भोलि विहानैबाट स्थानीय तहमा सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भएको बताइएको छ ।-नेपालीहेल्थबाट साभार
