२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ तीनदिन देखि प्रतिक्षारत स्वाब परीक्षण रिर्पोटको अन्तिम नतिजा आएको छ । दमक वडा नं. ३ मा एकजनामा कोरोना पोजेटिभ देखिएपछि उनको हिमचिममा आएकारुको स्वाब परीक्षणका लागि धरान पठाईएको थियो । ४ दर्जनभन्दा ब्याक्तिहरुको स्वाब परीक्षण गरिएकोमा कसैको पनि पोजेटिभ नआएको हो ।

दमक नगरपालिकाले जारी गरेको बिज्ञप्तिमा यसको पुष्टि गरिएको छ । केहिमा आरडीटी पोजेटिभ आएपछि स्वाब परीक्षणको नतिजा कस्तो आउछ भनेर चिन्ता थियो । नतिजा नेगेटिभ आएपछि संक्रमितको सम्पर्कमा रहेकाहरुमा कोरोना भाइरसको संक्रमण नहेको पाईएको हो ।

५४ जना व्यक्तिबाट लिईएको स्वाब नमुना परीक्षण लागि वि. पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा आज मिति २०७७ बैशाख १७ गते प्राप्त रिपोर्ट अनुसार सबै नमुनाहरुको नतिजा Negative (संक्रमण नभएको) आएको छ, बिज्ञप्तिमा भनिएको छ ।

दमक ३ नम्बर वडा सहित आसपासको क्षेत्र नगरपालिकाले शिल गरेकोमा त्यो हटेको छ । अन्यत्र झै यहाँ पनि लकडाउन भने कायमै रहेको छ । रिर्पोट नआएसम्म स्थानीयहरुलाई हिडडुलमा समेत नगरपालिकाले बन्देज लगाउदै घरभित्र नै बस्न आग्रह गरेको थियो ।

रिर्पोट नेगेटिभ आएसंगै स्थानीयहरुले राहतको महसुस गरेकाछन् । वडाध्यक्ष नविन बरालले आफुलाई समेत रातभर निन्द्रा नलागेको बताए । वाडमा कोरोना संक्रमण फैलिएको भन्ने डर रहेको थियो तर अहिले ढुक्क भएको छ, उनले भने। अझै पनि सुरक्षित भएर सामाजिक दुरी कायम गर्न अत्यआवश्यक काम बाहेक बाहिर हिडडुल नगर्न पनि उनले आग्रह गरेकाछन् ।

नगरपालिकाको बिज्ञप्तिमा भनिएको छ-

दमक नगरपालिका वडा नं. ३ मा एकजना व्याक्तिमा कोरोना भाईरस संक्रमण (COVID-19 Positive) देखिएको स्थानबाट मिति २०७७ साल बैशाख १४ गते Contact Tracing गरि ५४ जना व्यक्तिबाट लिईएको नमुना परीक्षण लागि वि. पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा आज मिति २०७७ बैशाख १७ गते प्राप्त रिपोर्ट अनुसार सबै नमुनाहरुको नतिजा Negative (संक्रमण नभएको) आएको छ। अतः मिति २०७७ साल बैशाख १३ गते उक्त  स्थानमा चार किल्ला  तोकि लगाईएको घेरा हटाईएको छ। तर लकडाउन जारि रहेको हुँदा उक्त क्षेत्रमा समेत घर बाहिर निस्कन र अत्यावस्यक काममा बाहेक हिडडुल गर्न नपाईने व्यहोरा जानकारी गराईएको छ।