२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले कोरोना संक्रमणको यो महामारीको समयमा पनि दमकमा घर तथा ब्याक्तिगत प्रयोजनका निर्माणका कामहरु भइरहेको भन्दै यो रोकिनु पर्ने माग गरेको छ । अति आवश्यक निर्माण कार्य गर्ने नेपाल सरकारले अनुमति दिएता पनि जनघनत्व बढि भएको दमकमा निजि घरहरु निर्माण कार्यमा बाहिरबाट कामदार ल्याएर नीजि घरहरु निर्माण गर्ने काम भइरहेको भन्दै यो रोक्न माग गरेको हो ।

उक्त कार्यबाट कोरोना संक्रमण फैलिने सम्भावाना भएको हुनाले हाललाई यस्ता निर्माण कार्यहरु बन्द गर्न दमक नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ, रेडक्रसका एक कार्य समिति सदस्यले जनाकारी दिनु भयो । मंगलवार रेडक्रस अध्यक्ष प्रकाश बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको र निर्णयको बिषयमा दमक नगरपालिकलाई जानकारी पनि दिईएको ति सदस्यले जनाएकाछन् ।

दमकमा नीजि निर्माणका कामहरु रोकिएको छैन । हार्डवेयर पसलहरु तथा इटा पसलहरु खुला भएपछि निर्माण रोकिएका नीजि घरहरु धमाधम बन्न थालेकाछन् । यहाँ श्रमिक अभाव रहेका कारण बाहिरी जिल्ला तथा भारतबाट श्रमिकहरु ल्याएर पनि निर्माण ब्यवसायीले काम गराउदै आएकाछन् । उनिहरुले कुनै सुरक्षाको उपाय अपनाएका छैनन् भने यसतर्फ अनुगमन तथा कसैको पनि ध्यान नगइरहेका बेला रेडक्रसले यस्तो माग गरेको पाईएको छ ।

नीजि घरहरुसंगै अन्य विकास निर्माणका कामहरुमा पनि भारतीय कामदारहरुको नै बढिमात्रामा रहेकाछन् । पुराना यहि रहेका कामदारहरु या नयाँ कामदार भन्ने निक्र्योल गर्ने अनुगमन गर्ने काम हुन नसकेको बताईदै आएको छ । निर्माणको काम गर्दा अनिवार्य रुपमा कामदारलाई क्वारेन्टाइनमा राखिनु पर्ने भनिएपनि दमकमा यसरी क्वारेन्टाइन बनाएको कहि सार्वजनिक भएको छैन ।