दमकमा भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परीक्षण शुरु
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा केहि दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको कोरोना संक्रमण भए नभएको परीक्षण शुरु भएको छ । सिमामा रहेका उनिहरुलाई उद्धार गरेर ल्याएर दमकका २ वटा क्वारेन्टाइनमा राखिएको छ । अघिकाँश जिल्ला बाहिरका रहेकाछन् ।
दमक नगरपालिका जन स्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसार १५ जनाको आरडिटी परीक्षण भएको छ । यसमा सबैको रिर्पोट नेगेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ, उनले भने । नियमित रुपमा क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य अवस्था बुझ्ने काम भईरहेको पनि उनले बताए ।
यसैगरी आज ३१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको पनि बरालले जनाएकाछन् । प्रदेश भित्र जुनसुकै जिल्लाका नागरिक भएपनि स्वाब परीक्षण गरेर मात्र सम्बन्धित जिल्लामा पठाउनका लागि प्रदेश सरकारले निर्देशन दिएको छ । सिमितमात्रामा मात्र स्वाब परीक्षण हुँदै आएको छ ।
जिल्लाभर १४ सयभन्दा बढि नेपालीहरु भारतीय सिमाबाट नेपाल प्रवेस गरेकाछन् । उनिहरु जिल्लाभर स्थानीय तहले बनाएका क्वारेन्टाईनमा रहेकाछन् । कचनकवलमा धेरैमा कोरोना पोजेटिभ देखिएपछि यसमा सबैको ध्यान केन्द्रित भएको छ र यहाँ परीक्षणको दायरा पनि बढाएको पाईएको छ ।
