लकडाउनलाई बिस्तारै खुकुलो पार्दै लैजान योजना पेश गर्न निर्देशन, तत्काल लकडाउन नखुल्ने
काठमाडौँ, जेठ २२
सरकारले लकडाउनलाई बिस्तारै खुकुलो पार्दै लैजान योजना पेश गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई जिम्मेवारी दिएको छ ।
सर्वसाधरणले लकडाउनको उल्लघन गर्न थालेपछि कोरोना भाइरसँग कसरी लड्ने भन्ने योजना ल्याउन मन्त्रिपरिषद्ले समितिलाई जिम्मेवारी दिएको हो । लकडाउनको ७३ दिन भइसक्दा पनि सरकारले जनताको दैनिकी सहज हुने कुनै निर्णय नगरेको भन्दै आलोचना एवं लकडाउनको अवज्ञा गर्ने स्वर बढिरहेको छ । सरकारले असारबाट मात्र लकडाउनलाई चरणबद्ध गरेर खुलाउने तयारी गरेको छ ।
समितिले आइतवार मात्र लकडाउनको मोडालिटी तयार पार्ने र सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्न सक्ने एक मन्त्रीले जानकारी दिनुभयो । स्वास्थ्य संकटकाल लगाउने स्वास्थ्य मन्त्रालयको निर्णयका विषयमा पनि छलफल भएपनि कुनै निर्णय भएको छैन ।
बैठकले रोल्पामा भएको वम विष्फोटनबाट मृत्यु भएका चार बालबालिकाका परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति दिने निर्णय गरेको छ । गत १८ वैशाखमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा भएको वम विष्फोटमा परी चार बालबालिकाको अकालमै ज्यान गएको थियो ।
विष्फोटबाट सोही स्थानीय लालबहादुर केसीका ११ वर्षीया छोरी विमला केसी र पाँच वर्षीय छोरा विजय केसी तथा ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव नेपालीको मृत्यु भएको थियो ।
