२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा संक्रमण फैलन खतरा कायमै रहेकाले लकडाउन पालना गर्न आग्रह गरिएको छ । ब्यवसायीको मागको बिषयमा र सहजताका लागि आवश्यक छलफलपछि निर्णय लिन सकिने बताउदै सरोकारवालाहरुले यस्तो बताएकाहुन् । सरकारले जेड अन्तिमसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो ।

२४ गतेदेखि झापाका उद्योगी ब्यवसायीहरुले लकडान अवज्ञा गर्ने तथा पसल खोल्ने निर्णय गरेका थिए । यस्तो नगर्न नोवल कोरोना भाइरस कोभिड १९ रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले अनुरोध गरेको हो । यसमा सरकारी निकायका प्रमुख तथा राजनीतिक दलका प्रमुखहरु पनि सदस्य रहेकाछन् ।

समितिका संयोजक सोमनाथ पोर्तेलले लकडाउन कार्यन्वयनका लागि अनुरोध गरेकाछन् । लकडाउनलाई प्रभावकारी बनाउनका लागि सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको छ, उनले भने । सरकारले जोखिम देखेर नै लकडाउन जारी राखेको हो र यसलाई पालना गर्नुपर्छ, उनले भने ।

झापाका नगरपालिका तथा गाँउपालिकाले निर्णय कार्यन्वयन नगराएको प्रति सचेत हुन आग्रह गर्दै यस अघिका निर्णयहरु पनि पालना गर्न अनुरोध गरिएको छ । यसअघि भएका सवै निर्णयहरुलाई प्रभावकारीरुपमा एकरुपताका साथ सञ्चालन गर्न सवैपालिकाहरुलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ, पोर्तेलले भने ।

यसभन्दा अघि दमकका ब्यवसायीहरुसंग भएको छलफलमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पनि केहि समय ब्यवसायीहरुलाई लकडान अवज्ञा नगर्न अनुरोध गरेका थिए । उनले सरकारले घोषणा गरेको लकडाउन पालनाका लागि उनको अनुरोध रहेको थियो ।