२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/कोरोना संक्रमणबाट बच्न र बचाउन सरकारले लकडाउनको घोषणा गर्यो । शुरुका दिनमा लकडाउन प्ुर्ण रुपमा पालना भयो । मानिसमा डर त्रास र भय निक्कै थियो । विस्तारै लकडाउनको अवज्ञा हुन थाल्यो र आजबाट लकडाउन निक्कै खुकुलो बन्यो ।

अति विपन्नहरु लकडाउनको ठुलो मारमा परे । यो बीचमा आत्महत्या रोकिएन । लकडाउनका कारणले मात्र नभएर झापामा त्यो भन्दा अघि पनि आत्महत्याको दर निक्कै थियो । यो लकडाउनको बीचमा पनि आत्महत्या गर्ने क्रम नरोकिएको पाईएको छ ।

सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउनको अवधिमा हालसम्म प्रदेश–१मा दुई सय २४ जनाले आत्महत्या गरेका छन् । प्रदेश–१ मा सबैभन्दा धेरै झापामा आत्महत्याको दर बढेको प्रहरीले जनाएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा ४३ जनाले आत्महत्या गरेका छन् । त्यस्तै इलाममा २६, पाँचथरमा १०, ताप्लेजुङमा ६, मोरङमा ४४, सुनसरीमा १४, धनकुटामा १३, तेह्रथुम र संखुवासभामा ७–७ जना, भोजपुरमा ११, उदयपुरमा १८, ओखलढुङ्गामा ९, खोटाङमा ११ र सोलुखुम्बुमा ५ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहेका बेला झापासहित पूर्वका जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या बढेको बीएण्डसी टिचिङ हस्पिटलका मनोरोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारी बताउछन् ।