२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  कोरोना भाइरसको संक्रमणको त्रासका कारण झापा सहित नेपालभरका विद्यालय तथा शैक्षिण संस्थाहरु बन्द रहेकाछन् । झापाको दमकमा पनि विद्यालयहरु बन्द रहेकाछन् । अनलाइन कक्षा पनि प्रभावकारी भएको र त्यसमा विद्यार्थीहरुको सहभागिता न्यून भएको विद्यालयहरुले जनाउदै आएकाछन् ।

यसैबीचमा असार १ गतेबाट विद्यालयको प्रशासनिक काम तथा विद्यालयको प्रशासन खुला गर्ने सरकारले निर्णय गरेपछि यसले केहि अन्योलता ल्याएको छ । विद्यालय नै खुल्न सक्ने र प्रशासन खोलेपछि विद्यार्थी भर्नाका लागि कसरत भएको पनि सुनिन थालेको छ ।

यसैबीचमा दमक नगरपालिकाले सरोकारवालाहरुसंग छलफल चलाउदा तत्काल विद्यालय खोल्न नसकिने ठहर गरेको छ । सोहि बमोजिम दमक नगरपालिकाको शिक्षा शाखाले तत्काल विद्यालयमा पठनपाठन तथा बिद्यार्थी भर्ना नगर्नका लागि निर्देशन गरेको छ ।

दमक नगरपालिका शिक्षा शाखा प्रमुख दीनेशकुमार न्यौपानेले सम्बन्धित विद्यालयहरुलाई निर्देशन सहितको पत्र पठाउदै बिद्यार्थी भर्ना र पठनपाठनको काम नगराउन भनेकाहुन् । कोभिड १९ को प्रकोप बिद्यमान रहेको अवस्थामा विद्यार्थीको भर्ना तथा पठनपाठन कार्य हाललाई सञ्चालन नगर्नु नगराउनुहुन भन्दै न्यौपानेले बिद्यालयहरुलाई निर्देशन दिएकाछन् ।

पठन पाठन नगरान निर्देशन दिइएपनि मापदण्ड अपनाएर पुस्तक वितरण गर्न र यसको विवरण अद्यावधिक गर्न भने निर्देशन दिएको पाईएको छ । उपयुक्त माध्यम छनोट गरेर पाठ्यपुस्तक वितरण गरी उक्त कार्यको अभिलेख अद्यावधिक गर्नु हुन, भन्ने निर्देशन पत्रमा उल्लेख रहेको पाईएको छ ।