राज्यबाट उपेक्षित रहेको दमक आम्दा अस्पताल, जसले शिक्षक कर्मचारीको तलव पनि नख्वाई विरामीको उपचारमा तल्लिन छ
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकस्थित आम्दा अस्पतालले सुविधायुक्त आइसुलेसन बनाएको छ । आम्दा अस्पतालले आफ्नो क्याम्पसको भवनमा आइसुलेसन तयार पारेको हो । जहाँ कोरोना संक्रमणको आंशका गरिएका तथा लक्षण मिलेका र उच्च ज्वरो आएकाहरुलाई राखेर उपचार गरिन्छ । अस्पतालले क्याम्पसका शिक्षक तथा प्राध्यापकहरुलाई तलव समेत नदिइ भएपनि अहिले विरामीको उपचारका लागि आवश्यक खर्च बेहोरीरहेको पाईएको छ ।
राज्यबाट सहयोग भए हामी थप मजबुद भएर काम गर्न सक्थ्यौ, अस्पतालका मेसु डा. नविन ढकालले भने । बिभिन्न अस्पताल गएर दूब्र्यवहार भएको भन्दै विरामीहरु यहाँ आउने गरेको र आफुहरुले उनिहरुलाई कुनै पनि भेदभाव नगरी राखेको डा. ढकालले बताउनु भयो । सामुदायिक अस्पताल भएकाले आफुहरुलाई पनि राज्यले यो अवस्थामा सहयोग गरे हुन्थ्यो भन्ने लागेको उनको भनाई रहेको छ ।
अस्पतालको स्तरउन्नती तथा आवश्यक उपकरणहरुका लागि बारम्बार प्रदेश सरकार र संघीय सरकारमा धाइरहेको पनि डा.ढकालले बताउनु भयो । यस क्षेत्रका बासिन्दाहरुलाई सहज र सर्वसुलभ रुपमा गुणस्तरीय सेवा प्रदान गर्न सहयोग मागेका हौ, ढकालले भन्नुभयो ।
अस्पतालमा एनआईसियु, कोरोना संक्रमणको भयाभह यो अवस्थामा जाँचका लागि आवश्यक उपकरण, आवश्यक स्वास्थ्य सामाग्रि एवं चिकित्सक एवं यहा खटिने स्वास्थ्यकर्मीहरुका लागि आवश्यक सुरक्षात्मक सामाग्रिहरु उपलब्ध गराउनु पर्ने अवस्था आम्दामा देखिएको छ । अस्पताल आर्थिक रुपमा निक्कै अप्ठेरोमा रहेको छ, अस्पताल श्रोतको भनाई छ ।
आम्दा यस्तो अस्पताल हो वेवारिसे विरामीहरुको उपचार केन्द्र जस्तै रहेको छ । कहि विरामी अलपत्र परेको कसैले भेट्यो भने सिधै यहाँ ल्याउने गर्छन् । अन्य अस्पतालले विरामी भर्ना गर्न नमान्दा त्यस्ता विरामी पनि आम्दा नै आईपुग्छन् । आम्दा अस्पताल दमक नगरपालिकाको प्रमुख सञ्चालक समितिको अध्यक्ष रहने ब्यवस्था रहेको छ । जस अनुसार अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा रोमनाथ ओली हुनुहुन्छ ।
जिल्लाका अधिकाँश नीजि अस्पतालहरुले कोरोना संक्रमणको शुरुवाती चरणमा आकस्मिक बाहेकका सेवा बन्द गर्दा आम्दा अस्पतालले ज्वरो क्लिनिक सञ्चालन गरेर यस क्षेत्रका विरामीहरुलाई सेवा प्रदान गरेको थियो । तर पनि राज्यबाट उपेक्षित रहेको छ ।
