ग्रहणविज्ञान विवेचना-के हो ग्रहण ? के गर्नु हुन्छ र के गर्नु हुँदैन ?
चक्रपाणि गौतम
यही आषाढ कृष्णपक्ष अमावश्याका दिन चूणामणियोग युक्त सूर्यग्रहण लाग्दैछ , सूर्य र पृथ्वीका बीचमा जव चन्द्रमा पर्दछ त्यस वेला सूर्यग्रहण लाग्दछ । खगोल विज्ञान र ज्योतिष शास्त्रका आधारमा यो सामान्य आकाशीय परिघटना मानिए पनि धर्मशास्त्रका दृष्टिमा यो विशेष महत्व राख्ने आकाशीय घटना हो । यस पटकको ग्रहण कंकणकार ग्रहणका नामले जानिन्छ , धर्मशास्त्रले पुण्यकाल मानेको ग्रहणको घटनालाई पाश्चात्य अन्वेषणकर्ताहरु पनि ग्रहणका तीन मुख्य चमत्कारिक संभाव्यता मध्ये सूर्योपरागका समयमा हुने रासायनिक र भौतिक परिवर्तनका विषयमा निरन्तर शोध मा नै तल्लीन रहेका छन । यद्यपि अध्यात्मको मूल सवै वस्तु विषय वा परिस्थितिलाई धर्ममय बनाउनु पनि हो । यसर्थ प्राच्य विद्याविज्ञान हरेक कर्म र अवस्थालाई धर्माचरणसंग मात्र सम्बन्ध राख्दछ । यसकारण हामी पूर्वीय संस्कृतिका अनुयायीहरु धर्माचरणमा जीवन व्यतित गर्न चाहन्छौं ।
यस पटकको सूर्यग्रहण नेपाली समय अनुसार विहान १० बजेर ५० मिनेट देखि प्रारम्भ भई अपराह्न दुई बजेर २३ मिनेटमा समाप्त हुने छ । (देशका विभिन्न भागमा केही मिनेट सेकेन्ड फरक पर्न सक्दछ ) प्रकाशयुक्त कुनै पनि वस्तुमा अप्रकाशित अपारदर्शी वस्तु आयो भनें तेस्रो वस्तुमा छाँया देखिन्छ । यही छाँया नै ग्रहण हो । शास्त्रीय वचन अनुसार सूर्यमा राहुको प्रकोप ग्रहण मानिन्छ । यद्यपि ज्योतिषीलाई राहुको दानवीय रुपसंग कुनै सम्बन्ध हुदैन । सूर्यको कक्षलाई पृथ्वीले र पृथ्वी कक्षको बृत्तलाई चन्द्रमाले जव एक आपसमा काटदछन त्यसको उत्तरी बिन्दु राहू र दक्षिणी बिन्दु केतु मानिन्छ । अथवा उत्तरतर्फ बढदैगर्दा चन्द्रमाको कक्षा जव सूर्यलाई काटदछ त्यो सम्पात विन्दु राहु र जव चन्द्रमा दक्षिणबाट तल झर्दै सूर्यको कक्षालाई पार गर्दछ त्यो सम्पात विन्दुलाई केतु भनिन्छ । आधुनिक विज्ञान झै ज्योतिष विज्ञानमा पनि राहु केतु कुनै स्वतन्त्र ग्रह मानिदैनन ।
यस पटकको ग्रहण खण्डग्रास सूर्यग्रहण हो , जव सूर्य चन्द्रमा र पृथ्वी सीधा रेखामा पुग्दछन अनि चन्द्रमा राहु केतु विन्दुमा वसेर पृथ्वी नजिक हुन्छ खग्रास ग्रहण बन्दछ अनि जव यी तीन पिण्ड केही बांङ्गो टेढो विन्दुमा वस्दछन अथवा जहा जहांबाट जति जति सूर्य देखिन्छ त्यो भाग खण्डग्रास सूर्यग्रहण बन्दछ , जहांबाट राहूकेतु बिन्दुमा चन्द्रमा रहदैन त्यहां ग्रहण देखिदैन । जव चन्द्रमा राहु र केतुको विन्दुमा रहेर पृथ्वीबाट धेरै टाढा हुन्छ त्यसबेला बलयाकार सूर्यग्रहण लाग्दछ ।
ग्रहणको खगोलीय पक्षको संक्षेप विवेचना पछि अव लागौ अध्यात्म चिन्तन तर्फ । पौराणिक आख्यान अनुसार देवासुर संग्राम पछि प्राप्त अमृत वितरणमा दैत्यराज बलीको सहायक स्वर्भानु नामको राक्षस अमृत वितरणमा भगवानद्वारा

स्थापित पंक्तिमर्यादालाई उल्लंघन गरेर सूर्य र चन्द्रमाका बीचमा देवताको रुप वनाएर बस्यो यो कुरा थाहा पाएपछि सूर्य चन्द्रमाले स्वर्भानुले गरेको छल भगवानलाई संकेत गरे अमृत हातमा लिएर घा“टीसम्म पुर्याईसकेको स्वर्भानुको घा“टी भगवानले सुदर्शन चक्र प्रयोग गरि छिनाई दिनु भयो । घा“टीसम्म अमृत पुगिसकेका कारण स्वर्भानुको मृत्यु भएन टाउको र धड अलग अलग सत्तामा आएर राहु केतु का नामले प्रतिष्ठित भए । अमृतपान र सुदर्शन चक्रको स्पर्सका प्रभावले अमरता मिलेपछि राहुकेतु सूर्यचन्द्रलोकमा छाया“ग्रहका रुपले सूर्यचन्द्र सम्पातबिन्दुमा अदृष्य अस्तित्वका साथ अमर बने र ग्रहणकालमा यिनीहरुको सम्पातबिन्दु पार नगरुन्जेल प्राणीका प्राण र मनका अधिष्ठाता सूर्य चन्द्रमाबाट निस्कने प्राण र मन प्रदायक रश्मीहरु पृथ्वीका प्राणधारी जीव र मानवसम्म आउन सक्दैनन । यसैलाई भगवानलाई कष्ट भएको मानिन्छ ।
सूर्यलाई सहस्रांशु (हजार प्रकारका किरण भएका ) भनिन्छ ऋग्वेद अनुसार सूर्यका हजारौ किरणमा अनेक प्रकारका उर्जावान अणुहरु रहेका छन् । सूर्यका सम्पूर्ण किरण सन्तुलित भएर पृथ्वीसम्म आउदा प्राणी र वनस्पतिमा उर्जा प्राप्त हुन्छ परन्तु ती रश्मीहरु समुचित रुपले आउन सकेनन भनें र ग्रहणकाल समाप्तिपछिमात्र असन्तुलित आए भनें प्राणी प्रकृतिको मन जीवनको स्पन्दनमा असर पुग्दछ । परावर्तित प्रकाशले सूर्य चन्द्रमा आफैलाई पनि उद्वेलित बनाउने संभावना बढछ , अनि पा्रकृतिक आपदा , वर्षा विप्लव जस्ता कठिनाईहरु संभव हुन्छन । यसरी प्रकृति पर्यावरणमा असन्तुलन ल्याउने ग्रहणजनित विकिरणले कोमल मानव शरिर र मनमा पनि प्रभाव पार्न सक्छ यसकारण ग्रहणकालामा । साधना ध्यान योग दान गर्नु पर्दछ । खग्रास सूर्यग्रहण लाग्दा पृथ्विको रंग परिवर्तन हुन्छ अनि आकाशको भव्यता दृष्टिगोचर हुन्छ यस अवस्थामा अचानक भएको यस्तो परिवर्तनले पृथ्वी र समुद्रमा भएका प्राणीहरु आत्तिन्छन यद्यपि सूर्यमा खग्रास अवधि एकदमै छोटो हुन्छ ,अत्यन्तै कालो आकाशबाट ग्रहण मुक्तहुने क्रममा केही मिनट मानिसको शरिर अनुहार सामान्य रातो देखिन्छ यो पनि केही मिनटमात्र हुन्छ । यी परिघटनाहरुले के बुझ्न सकिन्छ भनें सूर्य चन्द्रग्रहणका बेला हुने प्रकाश परावर्तन र रश्मी अवरोधले सौरमण्डलमा हलचल विकिरण विष्फोटका प्रभाव हुन सक्छन यसर्थ यस्तो अवस्थामा एकाग्रता र मनोयोगपूर्वक ध्यान जप पूजापाठ दान र श्नान गर्नु पर्दछ । अवरुद्ध सूर्यरश्मीका कारण शरिरमा कठीनाई नहोस भनेर पनि ग्रहणका सुरुमा मध्य भएपछि र अन्त्यमा नुहाउने विधान गरिएको हो ।
ग्रहणमा के गर्ने के नगर्ने
सूर्यलाई नाङ्गो आ“खाले हेर्नु हुदैन यो सर्वमान्य कुरा हो ।यसकारण सूर्यलाई कालो चस्मा अथवा अन्य उपकरणका माध्यमले हेर्नु पर्दछ । अध्यात्म ज्योतिषका दृष्टिमा एकै राशि र नक्षत्र मण्डलमा सूर्य चन्द्रमा रहदा सूर्यचन्द्रग्रहण हुन्छ । वेदान्तशास्त्रका आधारमा जीव विज्ञान जीवन विज्ञानको सिद्धान्त अनुसार मानव शरिर पनि ब्रह्माण्डको क्षुद्र रुप हो, यसकारण ग्रहण समयमा सूर्य चन्द्रमा राशि र राशिसलाई पार्ने प्रभाव दुष्प्रभावका फलादेश सम्बन्धी विवेचना गरिन्छ यस कारण कुनै राशिका लागि ग्रहण समय अनुकुल र कुनै राशिका लागि प्रतिकूल बन्दछ । (कारण नक्षत्रेश र राशिस्वामीमा ग्रहणको विकिरणले पार्ने दुष्प्रभाव मान्नु पर्दछ ) यसै अनुसार फलित ज्योतिषलाई मानेर शुभ हुने राशिका व्यक्तिले ग्रहण हेर्नु पर्दछ नहुने व्यक्तिले ग्रहणसाधनामा लाग्नु पर्दछ ।
छेद्यं न पत्रं तृणदारुपुष्पं कार्य न केशाम्बरपीडनं च ।
दन्ता न शोध्याः परुषु न वाच्यं भोज्यं च वज्र्ये मदनो न सेव्यः।
वाह्यं न वाजिद्विरदाहिकिंचिद्दोह्यो नगोजामहिषीसमूूहः
यात्रां न कुर्याच्छयनंच च तद्वद्ग्रहे निशामर्तुरहर्पतेश्च ।। चतुर्वर्ग चिन्तामणि ।।
शास्त्रका यस प्रमाण अनुसार ग्रहण अवधिभरि पात टिप्ने ,कपडा काटने, घांस काटने,काठ चिर्ने फलफूल टिप्ने ,कपडा र कपाल निचोर्ने ,मंजन गर्ने कठोर शब्द उच्चारण, भोजन, यौनकर्म हातीघोडा सवारीसाधननबाट यात्रा ,गाई भैसी बाख्रा दुहुने काम ,निद्राआदि त्याग गर्नु पर्दछ ।
ग्रहण सुरु हुनु भन्दा १२ घण्टा पहिलेदेखि सुतक लाग्दछ ।सूतक समयमा भोजन ,मूर्ति स्पर्स गर्नु हुदैन ,घरमा भएको दुध दी जस्ता पदार्थहरुमा कुश राखिदिनु पर्दछ । ग्रहण सुरु भए देखि मोक्षसम्मको सम्पूर्ण समयलाई सर्वपर्वकला भनिन्छ ।यो समय मन्त्र सिद्धि ,दीक्षा ग्रहण र श्राद्ध कर्म सम्पादनका लागि शास्त्रले उपयुक्त मानेको छ ।( सत्तीर्थेर्कविधुग्रासे तन्तुदामनपर्वणोः । मन्त्रदीक्षांप्रकुर्वाणो मासक्र्षादिन न शोधयेत) सर्वपर्वकालमा बालक बृद्ध रोगी सुत्केरी बाहेक कसैले पनि भोजन मलमूत्रत्याग र सुत्नेकार्य निषेध गरिएको छ ।
ग्रहणकालमा गरिएको दान जप श्नान र श्राद्ध अमोघ फल प्रदान गर्ने हुन्छन यसकारण शान्त चित्तका साथ दानकर्म , स्नान ,र पितृस्मरण र सूतकान्तमा पितृतर्पण गर्नु पर्दछ । ग्रहण समाप्ति पछि घरमा प्रयोग गरिने सबै वस्तुहरु सफा गरेर मात्र प्रयोग गर्नु पर्दछ । ग्रहणकालमा नदी पोखरी ताल आदिमा गएर गरिएको ग्रहणस्नान उत्तम मानिन्छ । रजस्वाला, सुत्केरी, गर्भवती (सात महिना भन्दा अधिककी गर्भिणीले तीर्थबाट ल्याएको जलले नुहाउने निर्देशन शास्त्रले गरेको छ , तीर्थजल नभए घरमै भएकोे जलमा तीर्थ आह्वान गरेर स्नान गर्नु पर्दछ । ग्रहण मुक्त भएपछि आफुले लगाएका कपडासहित (सचैल) स्नान गर्नु पर्दछ ।
(लेखक गौतम पंण्डित तथा ज्योतिष हुनुहुन्छ)
