दमकमा एक महिलामा देखियो कोरोना पोजेटिभ, २८ जना क्वारेन्टाइनमा
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै दमकमा कोरोना संक्रमित हुनेको संख्या २ पुगेको छ । एकजना निको भएर घर समेत फर्किसकेकाछन् ।
आज नयाँ एकजनामा कोरोना पोजेटिभ देखिएको र उनि बैदेशिक रोजगारबाट आएकी महिला रहेको बताईएको छ । क्वारेन्टाइनमा रहेकी महिलामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाले प्रेस बिज्ञप्तिमार्फत जानकारी गराएको छ ।
दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समिति प्रवक्ता एवं दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार ३१ जनाको पिसिआर परीक्षण गरिएकोमा दमक १ स्थायी घर भएकी र कुवेतबाट आएर क्वारेन्टाइनमा बसेकी महिलामा कोरोना संक्रमण पाईएको हो । ३० जनाको पिसिआर रिर्पोट नेगेटिभ र एक महिलाको पोजेटिभ आएको पाईएको छ, बिज्ञप्तिमा भनिएको छ ।
दमकमा हाल २८ जना क्वारेन्टाइनमा रहेकाछन् । मदन भण्डारी कलेज र मिष्ट कलेजमा बनाईएको क्वारेन्टाइनमा उनिहरु रहेका हुन् । सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको निगरानीमा पनि रहेको बताईएको छ । नगरपालिकाले क्वारेन्टाइनमा रहेकाहरुको कोरोना परीक्षण समेत गराएको छ ।
यसभन्दा अघि झापाको हल्दिवारी गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनिहरु पनि कुवेतबाट आएका थिए । क्वारेन्टाइनमा रहेका उनिहरुको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो ।
पछिल्लो समयमा कोरोना संक्रमण देशभर बढ्दो क्रममा नै रहेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको सार्वजनिक भएको छ ।
