२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मेचीनगर । कोरोना संक्रमणबाट भारतको नयाँ दिल्लीमा मृत्यु भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ ।

नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना संक्रमणबाट गत जेठ २५ मा मृत्यु भएको थियो ।

उनको शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्कार गरिएको छ ।

जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले कोरोना संक्रमणबाट मृत्यु भएका बस्नेतको शवलाई नेपाल पठाउन समस्या भएपछि दिल्लीमै अन्त्येष्टि गरिएको जानकारी दिए ।

‘दिल्लीमा शव बुझ्ने व्यक्ति नभएपछि ग्रिनतारा सोसाइटीको पहलमा नेपाली जनसम्पर्क समिति भारतले शव बुझेर अन्तिम संस्कार गरेको हो,’ अध्यक्ष पाण्डेले भने ।

शव बुझ्ने व्यक्ति नेपालमा भएपछि परिवारलाई पत्राचार गरेर शव व्यवस्थापन गरिएको थियो ।

जेठ २२ मा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लेडिहार्डिङ अस्पतालमा लगिएका बस्नेतको कोरोना पुष्टि भएको थियो ।

(प्रदेश र्पोटलबाट)