लकडाउनले दमक सहित झापामा होटल ब्यवसायीहरु संकटमा ! कस्ले बुझ्ने पीडा ?
विष्णुप्रसाद पोखरेल
दमक/ लकडाउनका कारण होटल ब्यवसाय तहसनहस हुने अवस्थामा पुगेको छ । यसमा भएको करोडौ लगानी अहिले न निल्नु न ओकल्नुको अवस्थामा पुगेको जनाईएको छ । अहिले पनि होटल ब्यवसाय शुचारु भएको छैन । सरकारले होटलहरु खोल्नका लागि अनुमति दिएको छैन ।
दमक सहित झापाका ठुला होटलहरु बिशेष गरेर समस्यामा परेकाछन् । साना तथा मझौला होटलहरु जेनतेन चलाउन शुरु भएपनि ठुला र बढि लगानी भएका होटलहरु भने अहिले पनि खुल्न सकेको छैन । यसका कारण यस क्षेत्रमा भएको लगानी खतरामा परेको छ ।
होटल ब्यवसायी महासंघले देशभरका स्थानीय तह तथा सरकारलाई पनि यस बिषयमा ध्यानकर्षण गराएको छ । यसैक्रममा होटल ब्यवसायी संघ क्षेत्रिय समिति माईपश्चिम समितिले पनि दमक नगरपालिकालाई ज्ञापनपत्र बुझाउदै आफ्ना पीरमार्काहरुलाई राखेको छ ।
संघका अध्यक्ष राजेन्द्र दंगालका अनुसार होटल तथा पर्यटनसंग सम्बन्धित १ हजारभन्दा बढि ब्यवसायी यसबाट प्रत्यक्ष असरमा परेकाछन् । कम्तिमा पनि ३ हजारले रोजगारी गुमाउने अवस्था रहेको छ । बैकको ब्याज र होटलको भाडा तिर्न अब मुश्किल भएको छ, दंगालले भने ।
दमक तथा झापामा मात्र नभएर नेपालभर होटल बन्दा हुँदा ११ लाख मानिसको रोजगारी संकटमा परेको बताउने गरीएको छ । होटल बन्द हुँदा पर्यटन क्षेत्र पनि प्रभावित छ । मापदण्ड अपनाएर होटल सञ्चालनको वातवरण बनाउन पनि होटल ब्यवसायीहरुले माग गर्दै आएकाछन् ।
