२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ कोरोना संक्रमण र यसको त्रासमा रहेका समयमा दमक नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रमहरुमा धेरैजसो त पुरानै दोरिएको पाईएको छ । यद्यपी शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा यो पटक केहि नयाँ कार्यक्रम तथा योजनाहरु आएकाछन् । जुन योजनाहरु कार्यन्वयन भएमा दमकको परिचय थप मजबुत हुने देखिन्छ ।

शिक्षामा केहि नयाँ परिवर्तन गर्न खोजिएको देखिन्छ । बिद्यालयका भौतिक सुधार तथा अन्य बिषयहरु पुरानै हुन् । यद्यपी दूइ वटा बिद्यालयमा एउटामा लिम्बु र अर्कोमा धिमाल भाषाको पाठ्यक्रम पढाउने भनिएको छ । स्थानीय सरकारले स्थानीय भाषा सम्बद्र्धन र मातृभाषा पढ्न चाहानेका लागि यो गौरवको बिषय हो ।

यसैगरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुको सहजताका लागि नगर स्कूल बस सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । यो पनि एउटा महत्वपुर्ण कदम हो । यो कार्यन्वयन भएमा नीजि बिद्यालयमा गइरहेका बिद्यार्थीहरु सामुदायिक विद्यालयमा आउन सक्छन् ।

दमकको आम्दा अस्पताललाई सामुदायिक अस्पातलको रुपमा विकास गर्नका लागि आवश्यक पहल गर्ने दमक नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश रहेको छ । स्वास्थयको क्षेत्रमा यो अत्यन्त राम्रो कदम हुनेछ । संगै दमक अस्पताल ५० बेडको बनाउने र आवश्यक पुर्वधार विकास गर्ने पनि भनिएको छ ।

कृषिमा अनुदानभन्दा अन्य कार्यक्रम ल्याएर आकर्षित गर्न खोजिएको छ । सिधै आर्थिक अनुदानभन्दा बिजूली, मलबीउ लगायत पुर्वधार निर्माण लगायतको क्षेत्रमा सहयोग गर्ने नीति राम्रो रहेको पाईएको छ । यो पटक  कृषि मैत्री नीति तथा कार्यक्रम देखिएको छ ।

नगरबस सचालन, प्रत्येक घरमा विरुवा एवं गमला राख्नु पर्ने, लघु उद्यमलाई गार्मेन्ट उद्योगमा परिणत गरेर महिलाहरुलाई आत्मनिर्भर बनाउने योजना लगायतका केहि महत्वकाक्षी कार्यक्रमहरु पनि नीति तथा कार्यक्रममा रहेकाछन् ।   लामो समयदेखि समस्या रहदै आएको घरवहाल करको बिषयमा पनि नगरपालिकाको नीति राम्रो रहेको पाईएको छ । १० प्रतिशत वहालकरबाट २ प्रतिशत लिने भनिएको छ । यो लागु गर्न सकिने अवस्था रहने भएकाले यसलाई पनि राम्रो मान्न सकिन्छ ।