सरकारी दमक अस्पताललाई ५० बेडको बनाईने
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकको जिल्ला अस्पातलको रुपमा स्वीकृत पाएको दमक अस्पताललाई ५० बेडको बनाउन पहल हुने भएको छ । दमक नगरपालिकाले नीति तथा कार्यक्रममा दमक अस्पताललाई महत्वकासाथ समावेश गरेको छ भने बजेट पनि उल्लेख्य छुट्याएको छ ।
दमक नगरपालिका उपप्रमुख एवं अस्पताल ब्यवस्थापन समिति अध्यक्ष गीता अधिकारीका अनुसार बढिमा डेढ बर्षभित्रमा सुविधा सम्पन्न र आधुनिक भवन निर्माण सहित ५० बेडको अस्पताल बनाउने योजना रहेको छ । पुर्वधार र उपकरण ब्यवस्था गरी यस क्षेत्रको सुविधा सम्पन्न अस्पताल बनाईनेछ, अधिकारीले भनिन् ।
दमक अस्पतालको ब्यवस्थापन सर्भेक्षण गरी संगठन संरचना तथा कर्मचारी अध्यावधिक गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । दमक अस्पतालमा नयाँ भवन तथा आवश्यक पुर्वधारहरु निर्माणको क्रममा रहेकाछन् ।
दमक अस्पतालमा केहि समययता प्रसुती सेवा, हाडजोर्नी सेवा लगायतका महत्वपुर्ण सेवाहरु थपिदै लगिएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार जेष्ठ नागरिक तथा अति बिपन्नहरुलाइए निशुल्क उपचारको बन्दोबस्त पनि मिलाइने छ ।
दमकमा आर्थिक अभावले कोहि पनि उपचारबाट बञ्चित हुनुनपरोस भन्नेमा हामी रहेका छौ, ओलीले भने । दमक अस्पताललाई नगरपालिकाले महत्वका साथ हेरेको पनि ओली बताउछन् । दमक अस्पतालमा एक बर्ष अघि देखि पोष्टमार्टम सेवा पनि सञ्चालनमा रहेको छ ।
