२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मोरङको कानेपोखरी गाउँपालिका–७ मा बिहीबारराति भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । झापाको दमकबाट इटहरीतर्फ जाँदै  गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले ठक्कर दिँदा पैदल यात्री एक महिला र मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।

सुरुमा पैदल यात्री महिलालाई ठक्कर दिएपछि अनियन्त्रित बनेको स्कोरपिओले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई पनि ठक्कर दिँदा दुर्घटना भएको उनको भनाइ छ । दुर्घटनामा परेर महिलाको घटनास्थलमै मृत्यु भएको छ । ४० ४५ वर्षीया उनको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । पैदल यात्री महिलालाई ठक्कर दिए लगत्तै स्कोरपिओले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको डीएसपी गिरीले बताए । ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ ।

पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको जानकारी गिरीले दिए । स्कोरपिओका धनी समेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कानेपोखरी नजिकै बिभत्स दुर्घटना । स्करपियोले मोटर साइकललाइ ठक्कर ।

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Thursday, 25 June 2020