२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक  ।  दमक नगरपालिकाले नियमित करदाताहरुलाई कर तिरेको २५ प्रतिशत रकम फिर्ता गर्ने गरी ‘करदाता सामाजिक सुरक्षा कार्यक्रम’ ल्याएको छ । यो नगरपालिकाको नयाँ कार्यक्रम हो । जारी रहेको सातौ नगर सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कार्यविधि बनाएर रकम फिर्ता गरिने छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार बार्षिक रुपमा एकमुष्ट ५ हजार वा सो भन्दा माथि रकम कर बुझाउने करदाताको उमेर ७० बर्ष नाघेपछि तिरेको करको २५ प्रतिशत रकम फिर्ता हुनेछ । उमेर छदा ब्यवसाय गरेर ब्यवसाय कर तिरेको पैसा उमेर ढल्केपछि सम्मान स्वरुप फिर्ता गर्ने गरी कार्यक्रम ल्याईएको, ओलीले भन्नुभयो ।

मासिक, बार्षिक वा एकमुष्ठ कसरी फिर्ता गर्ने भन्ने कार्यविधि बनाईने पनि नगर प्रमुख ओलीले बताउनु भयो । कर तिर्नसाथ उक्त कर तिरेको २५ प्रतिशत रकम फिर्ताका लागि बनाईएको कोषमा राखिने पनि ओलीले जनाउनु भएको छ । हामी आँउदो आर्थिक बर्षको शुरुवातमा नै कार्यविधि बनाउछौ, उहाँले भन्नुभयो ।

नगरपालिकाले २०७७/०७८ देखि करदाताहरुलाइ कर सम्बन्धी आवश्यक जानकारी प्रदान गर्ने उदेश्यले एस.एम.एस. कर सेवा शुरु गरिने र इ पेमेन्ट प्रणाली लागु गर्न आवश्यक प्रवन्ध मिलाउने पनि नीति लिईएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले बताउनु भयो । कर प्रणालीलाई सरलीकृत गर्नका लागि यसले टेवा पुग्ने अपेक्षा लिएका छौ, तिम्सिनाले भन्नुभयो ।