२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

इलाम । इलाममा सलह किराको झुन्ड देखिएको छ। भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ को तल्लो धजे क्षेत्रमा बिहीबार दिउँसो सलह देखिएको हो। स्थानीय शिक्षक कुलप्रसाद ढकाल अनुसार बिहान १० बजेतिर चिया, इस्कुस र मकैको बोटमा सलह देखिएको थियो।

स्थानिय किसान सुजन खतिवडा, लोकनाथ खतिवडा र चेतन ढकाल लगायतको बालीमा सलह देखिएको हो। ‘सलहले ४/५ बोट चिया, इस्कुस र मकैको पात खाएको छ,’ किसान सुजन खतिवडाले भने, ‘करिब २०/२५ वटा मात्र नियन्त्रणमा लिन सकिए पनि मानिस छेउ पुग्ने बित्तिकै तीव्र गतिमा भाग्ने भएकाले नियन्त्रण सम्भब भएन।’

मकैबालीमा सलह आएर बसे पनि धेरै क्षति भने गर्न नभ्याएको खतिवडाले बताए। सूर्योदय–१ का वडा सचिव नवीन ढकालले पनि बिहीबार गाउँमा सलह देखिएको बताए। ‘बिहीबार करिब एक घण्टा एक हुल सलह देखिएको थियो। इस्कुस, मकै, चियाको पात खरेटो जस्तै गरेर सिनिक्कै पारेको छ,’ उनले भने, ‘आज बिहान ९ बजेतिर पनि फाट्फुट्ट देखिँदैछ भन्ने जानकरी आएको छ।’

सलहको यो झुन्ड सीमावर्ती भारतको दार्जिलिङतिरबाट प्रवेश गरेको ढकालले बताए। केही समयअघि छिमेकी दार्जिलिङमा सलह देखिएको कारण रुङसुङ खोलाको किनारै किनार यता प्रवेश गरेको हुनसक्ने उनले बताए। सूर्योदय नगरपालिकामा बुधबार सलहजस्तै देखिने किरा कर्मचारीले कार्टनमा हालेर ल्याएको थियो। नगरको कृषि शाखा प्रमुख नारायण लम्सालले शाखाको टोलीले सम्बन्धित ठाउँमा पुगेर जानकारी लिने बताए।